गगन थापा सर्वसम्मत सभापति बन्न सक्ने सम्भावना छ : प्रवक्ता चालिसे


काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी १५औं महाधिवेशनबाट गगन थापा सर्वसम्मत रूपमा पार्टी सभापति बन्न सक्ने सम्भावना रहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता चालिसेले पार्टीभित्र कुनै वास्तविक विवाद नरहेको र आगामी महाधिवेशन नवीन ऊर्जाका साथ गर्न आन्तरिक तयारी पूरा भइसकेको दाबी गरे।

पार्टी विधान र वैधानिक प्रक्रियाअनुसार नै चलिरहेको स्पष्ट पार्दै उनले सकेसम्म सबैलाई समेटेर लैजाने प्रयास भइरहेको बताए। “कसैले पनि आफ्नो निजी आकांक्षालाई राजनीतिकरण गर्नु हुँदैन,” चालिसेले भने, “कांग्रेस समुद्र हो, यसमा छालहरू आउने–जाने गर्छन्। बाहिर पत्रपत्रिकामा विवाद भएजस्तो देखिए पनि पार्टीभित्र कुनै विवाद छैन।”

नवीन ऊर्जाका साथ महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिँदै उनले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनका लागि आह्वान गरिसकिएको जानकारी दिए। कांग्रेसले अग्रजलाई सम्मान र युवामा भरोसा गर्ने नीति लिएको उल्लेख गर्दै उनले यसपालि देशभरबाट ५६ हजार युवा कांग्रेसको नेतृत्व तहमा स्थापित भएको बताए।

साथै, पार्टीको नियम उल्लङ्घन गर्नेहरूप्रति कडा रुप अपनाइने सङ्केत गर्दै उनले कांग्रेसको ब्यानर अनधिकृत रूपमा प्रयोग गर्नेमाथि अनुशासन समितिले कारबाही गर्ने चेतावनी दिए।

उक्त साक्षात्कार कार्यक्रममा नेकपा (एमाले) का नेता कर्ण थापा, श्रम संस्कृतिका नेता एवं सांसद आर्यन राई तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद वदन भण्डारीले पनि समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए।