प्रम बालेनसँग आशिकाको प्रश्न, ‘हामीले भारतको भूमि कहाँ मिच्यौँ ?’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नेपालले भारतको कुन–कुन भूभाग अतिक्रमण गरेको हो, त्यसको तथ्य सार्वजनिक गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद तामाङले अहिलेसम्म नेपालीहरूले भारतबाट मात्रै नेपाली भूमि मिचिएको तथ्य थाहा पाएको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले नयाँ संशय पैदा गरेको उल्लेख गरेकी छन् ।

प्रधानमन्त्रीलाई आग्रह गर्दै उनले लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू ! नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ, त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु । किनकि सधैँभरि म लगायत हामी नेपालीहरूले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियो । तर, आजबाट हामीले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौँ, जुन कुरा हजुरबाट पुष्टि हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

छिमेकी मुलुकसँगको सीमा विवादका विषयमा संसद् र सार्वजनिक वृत्तमा बहस भइरहेका बेला रास्वपा सांसद तामाङको यो प्रहारलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।