‘भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु हुँदैन’- धमला


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले वर्तमान सरकारलाई भ्रष्टाचार नियन्त्रणमा बिना हिचकिचाहट कडा कदम चाल्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले ६ महिनाको अवधिमा सरकारले केही राम्रा काम गरे पनि भ्रष्टाचार र बेथितिविरुद्ध अझै सशक्त हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले भ्रष्टाचारीलाई कारबाही गर्ने मामलामा बालेन सरकारले कुनै पनि हालतमा खुट्टा कमाउन नहुने जोड दिए । आगामी दशैँ-तिहारपछि प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जान लागेको प्रसङ्ग उल्लेख गर्दै उनले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउन यो भ्रमण सकारात्मक कदम हुने बताए । “नेपाल र भारतबीचको सम्बन्धलाई अझ राम्रो र मजबुत बनाउनुपर्छ, दशैँ-तिहारपछि प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाँदै हुनुहुन्छ, त्यो राम्रो विषय हो,” उनले भने ।

पछिल्लो समय अकासिएको महँगीले सर्वसाधारणको भान्सा प्रभावित भएको भन्दै उनले मूल्य वृद्धि नियन्त्रणमा तत्काल ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । साथै चाडपर्वका बेला घर फर्किने यात्रुले सास्ती खेप्नुपरेको उल्लेख गर्दै दशैँअघि नै सडकका खाल्डाखुल्डी पुर्नुपर्ने उनको भनाइ थियो ।

संसद् र सरकारको भूमिकाबारे बोल्दै उनले संसद्मा जनताका जीवन्त एजेन्डा उठ्नुपर्ने र सरकार सदनप्रति पूर्णरूपमा जवाफदेही हुनुपर्ने धारणा राखे । भोटेकोशीका बाढीपीडितको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै धमलाले भने, “भोटेकोशी बाढीपीडितले यसपालिको दशैँ कसरी मनाउने ? उनीहरूका लागि सरकारले तत्काल स्पष्ट मास्टरप्लान बनाएर राहत र पुनःस्थापनाको काम अघि बढाउनुपर्छ ।”

साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे, नेकपा (एमाले) का नेता कर्ण थापा, श्रम संस्कृतिका नेता एवं सांसद आर्यन राई तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद वदन भण्डारीले पनि समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।