काठमाडौँ । विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन माग गरेको छ । प्रतिनिधिसभा बैठक बस्नुअघि सिंहदरबारमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाएको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा एमालेकी सचिव एवं संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री शाहको अभिव्यक्तिले सम्पूर्ण नेपालीको शिर झुकाएको बताइन् । अर्यालले प्रतिनिधिसभा नियमावलीमा गरिएको नयाँ व्यवस्थाप्रति पनि विपक्षी दलको गम्भीर आपत्ति रहेको उल्लेख गरिन् । सांसद र सामान्य नागरिकका लागि कानुन समान हुनुपर्नेमा सत्तापक्षले चोरबाटोबाट सांसदहरूलाई अपराधमा उन्मुक्ति दिने प्रावधान ल्याएर पारित गरेको उनको आरोप थियो ।
यस्तै, नेपाली कांग्रेसकी सचेतक निश्कल राईले पनि प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर उल्लेख गरे । उनले सरकारले यो विषयको सत्यतथ्य के हो भन्नेबारे आम जनतालाई स्पष्ट रूपमा जानकारी दिनुपर्ने मागसमेत गरेका छन् ।
छिमेकी मुलुकसँगको सीमा विवाद र अतिक्रमणको विषयलाई लिएर संसद्मा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र त्यसमाथि विपक्षी दलहरूको यो आक्रामक मोर्चाबन्दीले आगामी संसद् बैठक थप पेचिलो बन्ने देखिएको छ ।



प्रतिक्रिया