काठमाडौं, जेठ २१ । कारागारमा रहेका कैदीलाई अस्पताल लैजाने बहानामा होटल पुर्याइएको खुलेपछि दुई जना प्रहरी कर्मचारी बर्खास्त भएका छन् । सुन्धारा कारागारमा ठगी अभियोगमा थुनामा रहेका अनुप भण्डारीलाई अस्पताल लैजानुपर्नेमा होटल पुर्याइएको खुलेपछि कारबाही गरिएको हो ।
जेठ १ गते भण्डारीलाई कारागारबाट सामाखुशीस्थित बिनायक अस्पताल लैजाने भन्दै बाहिर निकालिएको थियो । तर उनलाई अस्पताल नलगेर सामाखुशीकै दीप सागर गेस्ट हाउसमा पुर्याइएको खुलेको छ । स्रोतका अनुसार भण्डारीले उक्त गेस्ट हाउसमा करिब ३ घण्टा बिताएका थिए ।
भण्डारीलाई कारागारबाट अस्पताल लैजान सुन्धारा कारागारको सुरक्षामा खटिएको नेपाल प्रहरी अनाश्रित गुल्म जगन्नाथदेवलबाट प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई खटाइएको थियो । कारागार प्रशासनले छानबिनमा उनीहरूको संलग्नता खुलेपछि दुवै जनालाई बर्खास्त गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतले जानकारी दिएको छ ।



प्रतिक्रिया