सरकार भन्छ– ‘विपक्षीसँग ठोस एजेन्डा नै देखिएन’


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको संसद्‌मा उपस्थितिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न चर्चा चलिरहेका बेला सरकारले त्यसको प्रतिरक्षा गरेको छ। मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री सदनमा उपस्थित हुँदा विपक्षी दलहरूसँग सोध्ने ठोस प्रश्न नै नदेखिएको दाबी गरेका हुन्।

सदनमा प्रधानमन्त्री शाहलाई घेराबन्दी गर्ने विपक्षी रणनीति असफल भएको सङ्केत गर्दै प्रवक्ता पोखरेलले सरकारले सोचेभन्दा निकै कम र फितला प्रश्नहरू मात्र सामना गर्नुपरेको जिकिर गरे। उनले प्रधानमन्त्री शाह संसद्प्रति जवाफदेही रहेको र आगामी दिनमा पनि आवश्यकताअनुसार संसद्‌मा उपस्थित भएर सम्बोधन गर्ने स्पष्ट पारे।

स्थानीय तहको राजनीतिबाट सिधै सिंहदरबारको कमान्ड सम्हाल्न पुगेका प्रधानमन्त्री शाह र विपक्षी दलहरूबीचको सम्बन्ध सधैँ उतारचढावपूर्ण रहँदै आएको छ। नीति, योजना र सुशासनका मुद्दामा संसद्‌भित्र प्रधानमन्त्रीलाई जबाफदेही बनाउन विपक्षी दलहरूले रणनीतिक तयारी गरेको दाबी गर्दै आएका छन् । बजेट पारित गर्ने समय र विभिन्न राष्ट्रिय सरोकारका मुद्दामा जवाफ नदिई पन्छिन खोज्नुको साटो संसद्‌भित्र प्रधानमन्त्री बालेनको नियमित जस्तै उपस्थिति भएर विपक्षीका प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिन सके मात्रै सदनका काम-कारबाही सहज ढंगले अघि बढ्ने देखिन्छ ।

Skip This

Omoda E5 Pro