स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय


नवलपुर (रजहर), २६ जेठ । नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयले औषधिविहीन चिकित्साका पद्धतिमार्फत प्रभावकारी स्वास्थ्योपचार सेवा प्रदान गर्दै आएको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ को समयमा समेत भर्ना भएका कुल ७८९ जना बिरामी सबैलाई सफलतापूर्वक उपचार गरेर थप चासो र चर्चा कमाएको चिकित्सालयमा स्वदेशबाट मात्र नभई विदेशबाट समेत उपचार गर्न आउने गरेका छन् ।

कोभिडका समयमा दुधे बालकदेखि ८९ वर्षसम्मका ज्येष्ठ नागरिकसमेतको सफल उपचार गरेको चिकित्सालय गण्डकी प्रदेशको योग र प्राकृतिक चिकित्साको गौरवको आयोजनासमेत हो । गैरनाफामूलक परोपकारी संस्थाका रूपमा अघि बढिरहेको यस चिकित्सालयले औषधिविहीन चिकित्साका विभिन्न विधि र पद्धति अपनाउँदै बहुप्रकृतिका स्वास्थ्य समस्याको उपचार गरिरहेको चिकित्सालयका महाप्रबन्धक हरि सापकोटाले जानकारी दिए ।

उनका अनुसार चिकित्सालयले प्राकृतिक चिकित्सा, अकुपञ्चर, अकुप्रेसर, आहार चिकित्सा, जडीबुटी चिकित्सा, अनुसन्धानात्मक योग चिकित्सा, मनोचिकित्सा, फिजियोथेरापी एवं पुनस्र्थापनामार्फत उपचार सेवा प्रदान गरिरहेको छ । औषधिविहीन चिकित्सा पद्धतिलाई वैज्ञानिक रूपले समिश्रण र प्रयोग गरी सबै किसिमका शारीरिक, मानसिक, तीव्र एवं जीर्ण रोगमा दीर्घकालीन समाधान दिँदै आइएको उनले बताए ।

संस्थाले प्रकृतितर्फ फर्कँदै जीवनशैली परिवर्तन गरी निराशालाई आशा जगाउन, रोगीलाई स्वस्थ बनाउन र स्वस्थलाई दीर्घजीवी बनाउने सोचका साथ आफ्ना गतिविधि सञ्चालन गरिहेको जनाएको छ । औषधिविहीन प्राकृतिक चिकित्सामार्फत उपचार सेवा प्रदान गरिहेको चिकित्सालयको सेवा प्रभावकारी रहेको सेवाग्राहीहरू बताउँछन् ।

विभिन्न किसिमका स्वास्थ्य समस्याको प्राकृतिक चिकित्सामार्फत सफल उपचार गरिरहेको यस संस्थाको सेवा प्रभावकारी रहेको नवलपुर फारमका निवासी बलराम आचार्य बताउँछन् । आफूले पेटको दुखाइसँगै खुट्टाको समस्याका क्रममा करिब डेढ महिना जति यहाँको सेवा लिएको उनले अनुभव सुनाए । “यहाँ हिँड्नै नसक्ने अवस्थाका व्यक्ति आएर उपचारपश्चात् हिँडेर फर्केको मैले नै प्रत्यक्ष देखेको छु”, उनले भने, “अत्यधिक मोटोपन भएका मानिस यहाँको उपचार सेवा लिएपछि मोटाइ राम्रैसँग घटाएर गएका धेरै उदाहरण छन् ।”

स्वास्थ्यमा हुने गरेका विभिन्न समस्याबाट मुक्त हुन यहाँ आएर सेवा लिन उनले सबैलाई आग्रह गरे । औषधिमा मात्र निर्भर नभई जीवनशैली सुधार, योग, ध्यान तथा प्राकृतिक विधिमार्फत रोगको रोकथाम र उपचार गरिने भएकाले यसप्रतिको आकर्षण बढ्दै गएको हो । विसं २०६७ मा स्थापना भएयता संस्थाले आहारविहार सुधार गरी जीवनशैली परिवर्तन गराउँदै जीवन जिउने कला सिकाउँदै हालसम्म हजारौँको सङ्ख्यामा जीवनदेखि निराश भएकाहरूलाई बाँच्ने आशा जगाउँदै राष्ट्रको नमूना प्राकृतिक चिकित्सालयको रूपमा आफूलाई स्थापित गर्न सफल बनेको महाप्रबन्धक सापकोटा बताउँछन् ।

चिकित्सालयमा ‘आहार नै औषधि’ हो भन्दै दिगो अग्र्यानिक कृषि उत्पादन गौपालन, जडीबुटीखेती, मौरीपालन आदिलाई अभियानका साथ अघि बढाइएको छ । चिकित्सालयलाई आवश्यक पर्ने दूध, दही, घ्यू, मह एवं तरकारी स्वयं संस्थाले नै उत्पादन गरिरहेको छ ।

उपचार सेवा लिन आएका बिरामीका लागि चिकित्सकको सल्लाह र निगरानीमा भौतिक आहारका लागि अस्पताल हाताभित्र प्राकृतिक, अग्र्यानिक एवं सात्विक खानाको व्यवस्था गरिएको छ । यहाँ आउने विभिन्न स्वास्थ्य समस्याका बिरामीलाई प्राकृतिक चिकित्साका क्षेत्रमा गहिरो अध्ययनसँगै लामो समय यस क्षेत्रमा अनुभवी चिकित्सक, फिजियोथेरापिष्ट, योगथेरापिष्टसमेतको टोलीले २४सै घण्टा निगरानी र निर्देशनमा उपचार गर्दै आएका छन् । परम्परागत शैलीसँगै अत्याधुनिक उपकरणसमेतबाट आधुनिक प्राकृतिक चिकित्सा सेवा प्रदान गरिरहेको संस्थाले नियमित योग ध्यानका कक्षाका साथै रोगअनुसारको योग, आरामका विधिहरू प्रणायाम, ध्यान आदि गराउँदै आएको छ ।

चिकित्सालयको प्राविधिक सहयोगमा अस्पताल हाताभित्र वा आवश्यकताअनुसार स्वदेश तथा विदेशमा समेत प्राकृतिक चिकित्सा जीवनशैली सुधारसम्बन्धी जनचेतनामूलक कार्यक्रमको राष्ट्रिय नेतृत्व गर्नेगरी अघि बढिएको उनले बताए । विभिन्न भाषा र क्षेत्रका पुस्तकसहितको पुस्तकालयका साथै चिकित्सकहरूद्वारा नियमित रूपमा स्वास्थ्यार्थीहरूको बीच विविध विषयमा अन्तक्र्रिया एवं सामूहिक परामर्शका कक्षाहरू सञ्चालन गरिँदै आएको महाप्रबन्धक सापकोटाले जानकारी दिए ।

शल्यक्रियापछिको पुनस्र्थापना, दुर्घटनापछिको पुनस्र्थापना एवं क्यान्सरको पुनस्र्थापना गरी विविध पुनस्र्थापना प्याकेजहरूको सुविधा राखेको चिकित्सालयले बहिरङ्ग÷अतरङ्ग सेवा, एम्बुलेन्स, हेल्थसप आदिसमेत सञ्चालन गररहेको छ । चिकित्सालयले जल चिकित्सा, वाष्प स्नान, ठूलो आन्द्रा सफा गर्ने पद्धति, माटो चिकित्सा, वैज्ञानिक मालिस, योगा थेरापी, योगिक षट्कर्म, मनोचिकित्सा÷परामर्श, आहार÷उपवास चिकित्सा, फिजियोथेरापी आदिका माध्यमबाट उपचार गर्दै आएको उहाँले जानकारी दिए ।

चिकित्सालयमा आउने बिरामीका लागि उनीहरूको दैनिक नियमित कार्यतालिका राखिएको छ । बिहान ५.०० बजेदेखि सुरु हुने उक्त कार्यतालिका राति १०.०० बजेसम्मका लागि तय गरिएको छ । चिकित्सालयको नियम एवं चिकित्सकको प्रत्यक्ष निर्देशनमा आहारविहार, योग, मनोरञ्जन आदिलाई पालन गर्दै बिरामी स्वास्थ्यलाभ गरी फर्कने गरेका छन् ।

चिकित्सालयमा आउने बिरामीका लागि उपचार सेवा, आवास तथा भोजनका लागि दैनिक एक हजार २०० रुपैयाँको प्योकज निर्धारण गरिएको छ । नेपाल सरकारको घोषित स्वास्थ्य नीतिको परिधिभित्र रहेर आर्थिक विपन्न÷द्वन्द्वपीडित, एकल महिला, असक्षमलाई उपचारमा सहुलियत प्रदान गर्दै आएको उनले जानकारी दिए ।

चिकित्सालयमा रोग लाग्नै नदिन प्रमोशन अफ पोजेटिभ हेल्थदेखि कब्जियत, पायल्स, अल्सर, कोलाइटिस, ग्यासटाइटिस, अपच, कलेजोका रोगहरूको सफलतापूर्वक उपचार गर्ने गरिएको छ । त्यस्तै रुघाखोकी, एलर्जी, दम, पिनास, टान्सिलाइटिस, टाउको दुख्ने, माइग्रेन, ढाड कम्मर, गर्धन दुख्ने, बाथ, युरिक–एसिड बढेको, डिक्स प्रोल्याप्स, हड्डी खिइएको, साइटिका, नशा च्यापिएको, साना तथा ठूला जोर्नीको दुखाइ, अन्य हाड, जोर्नी, नशा तथा मांसपेशीका समस्याहरूको उपचार हुँदै आएको छ ।

प्यारालाइसिस (पक्षघात), मुख बाङ्गिने, शरीरको एक वा दुवै भाग नचल्ने, सुगर, प्रेसर, थाइराइड, मोटोपना, अनिद्रा, डिप्रेसन, स्नायु दुर्बलता, मानसिक तनाव वा अन्य मानसिक समस्या, महिनावारी गडबडी, सेतो पानी बग्ने, मिर्गौला र पिसाबसम्बन्धी समस्या, सोरायसिस, एक्जिमा, डन्डीफोर वा अन्य छालाका समस्या सफलताका साथ चिकित्सालयमा उपचार भइरहेको पनि उनले जानकारी दिए ।

सुरुमा प्राकृतिक उपचार पद्धतिले रोग निको पार्छ भन्ने कुरा जनमानसमा विश्वास जगाउन धेरै नै गाह्रो भएको चिकित्सालयका पूर्वनिर्देशक डा विनोद पौडेल बताउँछन् । अहिले त्यो विश्वास प्राकृतिक चिकित्सा विधाले जितिसकेको बताउँदै उनले प्राकृतिक चिकित्सालयलाई अस्पतालका रूपमा भन्दा पनि जीवनशैली सिकाउने विद्यालयका रूपमा विकास गर्नु आवश्यक रहेकामा जोड दिए । “हरेक उमेरका व्यक्तिलाई स्वस्थ जीवनशैलीसम्बन्धी प्रशिक्षण दिई रोग नै लाग्न नदिने उद्देश्य राख्नुपर्छ”, उनले भने, “हरेक वर्षको १५ दिन स्वस्थ मानिस नै प्राकृतिक चिकित्सा विधालाई अवलम्बन गर्नु आवश्यक छ ।”

प्राकृतिक चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सरकारले पूर्वनिर्देशक पौडेललाई प्रबल जनसेवा श्री पदकबाट सम्मान प्रदान गरेको छ । कोभिड–१९ को महामारीमा प्राकृतिक विधिबाट उपचार, अन्य रोगहरूको सफल उपचार तथा जीवनशैलीसम्बन्धी प्रशिक्षणमा उनले विशिष्ट योगदान पुर्याएका छन् । चिकित्सालयले आफ्नो स्थापनाकालयता ६० हजारभन्दा बढी व्यक्तिलाई उपचार गरिसकेको छ ।

पूर्वपश्चिम राजमार्गको रजहर बजारदेखि सात सय मिटर दक्षिणतर्फ पैदलयात्राबाटै पुग्न सकिने यस चिकित्सालयमा जान अटो÷इ–रिक्साहरू सहजै पाउन सकिन्छ । बिहान ६.०० देखि बेलुका ८.०० बजेसम्म प्रत्येक पाँच मिनेटको फरकमा नारायणगढदेखि नियमित सिटी बसको सुविधा रहेको छ । कुल १० बिघा क्षेत्रफलमा फैलिएको चिकित्सालयमा हाल १५० शय्या क्षमता रहेको छ । अस्पतालको दिगो सञ्चालनका लागि २०६४ साल पुसमा महायज्ञ गरिएकामा उक्त महायज्ञमा एक करोड ७३ लाख रुपैयाँ दान सहयोगका लागि बोलकबोल भएको थियो ।

तीनवटै तहका सरकारको साथ र सहयोग पाएको चिकित्सालयमा पूर्वाधार विकास, उपकरण खरिद आदिका लागि हालसम्म करिब ३५ करोड रुपैयाँ बढी लगानी भइसकेको छ । उपचारमा आएका बिरामीले उपचारको सफलतापश्चात् गर्ने गरिएका धेरथोर सहयोगका कारण पनि यहाँको सञ्चालन एवं विकासमा सहयोग पुगेको छ । उपचारमा आएका एक बिरामीले उपचारको सफलतापश्चात् एक करोड ३० लाख लागतको २३ कोठे भवनसमेत निर्माण गरिदिएको जानकारी दिँदै सापकोटाले उपचारपछि बिरामीहरूले धेरेथोर सहयोग गरेर फर्कने गरेको अनुभव सुनाए ।

गण्डकी प्रदेशको समाजिक विकास मन्त्रालयको सिफारिस एवं राष्ट्रिय योजना आयोगको रु १२ करोड ४६ लाख विशेष अनुदानमा चिकित्सालयमा थप भवन बनिरहेको छ । उक्त भवन सम्पन्न भएसँगै हाल रहेको १५० शय्या क्षमतालाई बढाएर ३०० पुर्याउने लक्ष्य राखिएको छ । आगामी दिनमा चिकित्सालयलाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना राखिएको छ । –वासुदेव पौडेल/रासस

Skip This

Omoda E5 Pro