पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्ताहरूलाई आपसी मतभेद त्यागेर एकताबद्ध हुँदै जनतामाझ सक्रिय हुन निर्देशन दिएका छन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा गठन भएको ‘निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदल’ को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।

बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी भएका ओलीले पार्टी संगठन सुदृढीकरण, विगतका निर्वाचनहरूको निर्मम समीक्षा र आगामी राजनीतिक कार्यदिशाबारे आफ्नो धारणा राखेका थिए ।

ओलीले भने, “सबै नेता-कार्यकर्ता एकताबद्ध भएर जनताको सुख-दुःखमा साथ दिन गाउँ-गाउँ खटिनुपर्छ ।”

बैठकमा कार्यदलले निर्वाचनमा पार्टीले भोगेका चुनौती, प्राप्त परिणाम र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिक योजनाबारे विस्तृत समीक्षा गरिरहेको छ ।

कार्यदलका सदस्य एवं एमाले सचिव महेश बस्नेतका अनुसार बैठकमा पार्टी संगठनलाई जगैदेखि पुनर्गठन गर्ने र भावी कार्यदिशा तय गर्ने विषयमा नेताहरूबीच सघन छलफल भइरहेको छ । चुनावमा देखिएका कमजोरीहरूलाई सच्याउँदै आगामी दिनमा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्ने गरी कार्यदलले खाका तयार पार्ने उनले जानकारी दिए ।

Skip This

Omoda E5 Pro