‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’


काठमाडौँ, २९ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका निम्ति छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने बताएका छन् ।

बैठकको प्रारम्भमा नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताए ।

उनले संसद्मा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यससम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गरे । सार्वभौम संसद्को अवमूल्यन गर्ननपाइनेमा उनको जोड थियो ।

नेपाली कांग्रेसका भरतबहादुर खड्काले राष्ट्र र राष्ट्रियताका विषयमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भन्दै नेपाल–भारतबीचको सीमा समस्या यथाशक्य चाँडो हल गर्नुपर्ने बताए।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलबाट नेपाली नागरिक प्रभावित भएका सूचना आफूलाई प्राप्त भएकाले त्यहाँ अवाञ्छित गतिविधि हुननहुनेमा जोड दिए ।

नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र कूटनीतिक माध्यमबाट नेपालमा समाहित गर्नुपर्ने बाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले नेपाल–भारत सीमा विवाद चाँडोभन्दा चाँडो समाधान गर्न प्रभावकारी प्रयास हुनुपर्नेमा जोड दिइन् । रासस

Skip This

Omoda E5 Pro