काठमाडौं, जेठ ३० । सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टोलीले उनलाई महोत्तरीबाट गएराति पक्राउ गरेको हो।
प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्ने क्रममा दिएको चेक बाउन्स (चेक अनादर) भएको उजुरीका आधारमा साहलाई पक्राउ गरिएको हो। जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भएपछि अनुसन्धान टोलीले महोत्तरीबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार साहमाथि चेक अनादर तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। सन्तोष साह नेपालका चर्चित सेफमध्ये एक हुन्।
उनी बेलायतमा आयोजित चर्चित पाककला प्रतियोगिता MasterChef: The Professionals मा सहभागितापछि विशेष चर्चामा आएका थिए। प्रहरीले पक्राउपछि साहलाई आवश्यक कानुनी प्रक्रियाका लागि काठमाडौं ल्याउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।



प्रतिक्रिया