अर्थमन्त्री वाग्लेले शहरमा मात्रै बजेट बाँडे : एमाले


काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार अभिजात वर्गको मात्रै भएको आरोप लगाएका छन् ।

संघीय संसद्‌मा बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक महरले दुर्गम र भौतिक पूर्वाधारको तीव्र आवश्यकता भएका क्षेत्रलाई उपेक्षा गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुख्य शहरी क्षेत्रमा मात्रै बजेट थुपारेको दाबी गरे ।

महरले पूर्वाधारका क्षेत्रमा ठूलो बजेट विनियोजन हुनु सकारात्मक भए पनि त्यसको वितरण न्यायोचित नभएको टिप्पणी गरे ।
वास्तविक भौतिक पूर्वाधारको खाँचो पिछडिएका र अहिलेसम्म विकासको मूलप्रवाहमा आउन नसकेका दुर्गम क्षेत्रलाई भएको भन्दै महरले सरकारको बजेट वितरण प्रणालीप्रति तीव्र असन्तुष्टि जनाए । उनले पहुँचका भरमा सुगम र सीमित शहरमा मात्रै बजेट खन्याउने प्रवृत्तिले क्षेत्रीय सन्तुलन बिगार्ने चेतावनीसमेत दिए ।