ई–पासपोर्ट खरिद अनियमितता : अख्तियारमा आरजुले पठाइन् इमेल, के भनीन् ?


काठमाडौं ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि तानिएकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै बयान लिन घरमा म्याद तामेल गरेपछि देउवाले आयोगलाई इमेल पठाएकी छिन् ।

आरजु राणा देउवाको नामबाट बुधबार अख्तियारको इमेल आइडीमा मेल आएको अख्तियार स्रोतले जानकारी दियो । स्रोतका अनुसार मेलमा देउवाले आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने जानकारी गराएकी छन् ।

उनले मेलमा अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गरेकी छन् ।

पासपोर्ट खरिद प्रकरणकमा अनुसन्धान अघि बढाएपछि अख्तियारले आरजुको बूढानीलकण्ठस्थित घरमा म्याद तामेल समेत गरेको थियो । जहाँ बाटोको म्याद बाहेक तीन दिनभित्र उपस्थित हुन भनिएको छ ।

कागजी रुपमा कुनै भूमिका नदेखिए पनि ठेक्कापट्टाको डिजाइनदेखि प्याकेज बनाउने र ठेकेदारहरू मिलाउने काममा आरजु र उनका छोरा जयवीर देउवा समेत संलग्न रहेको उजुरीहरू परेको अख्तियार स्रोतले बतायो ।

अख्तियारले पासपोर्ट छपाइ अनियमितता सम्बन्धी उजुरीमा छानबिनका लागि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र विभागका तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धानका भइरहेको छ ।