राहदानी छपाई प्रकरणमा सदनमा सांसदहरूकाे चासो,कसले के भने ?


काठमाडौं । विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा सांसदहरूले चासो व्यक्त गरेका छन् । प्रतिनिधिसभाका सांसदहरूले आजको बैठकमा विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गरेका हुन् । 

सभाको आजको बैठकको प्रारम्भमै विपक्षी दलका सबै सांसद आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खडगबहादुर बुढालाई बोल्न समय दिए । सांसद बुढाले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका बारेमा स्पष्ट पार्न माग गरे । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले विद्युतीय राहदानी छपाईसम्बन्धी प्रकरणमा सरकारको जवाफ माग गरिन् ।  

नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले उपकुलपति छनोट प्रक्रियालाई राजनीतिक प्रभावमुक्त बनाउन माग गर्दै विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पार्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए । 

नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले दुई देशबीचको सीमाका सम्बन्धमा गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिका विषयमा असहमति जनाए ।      

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गरे । 

उनले भारतको पटनामा नेटवर्किङका नाममा नेपाली नागरिक बन्धक बनाइएको भनिएको सार्वजनिक समाचारका बारेमा स्पष्ट पार्न सरकारसँग माग गरे । रासस