रास्वपा सभापतिको उम्मेदवार बन्न ५१ हजार शुल्क, ५१ जना समर्थक चाहिने


काठमाडौं, असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न ५१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक र ५१ जना समर्थक चाहिने भएको छ । रास्वपा निर्वाचन आयोगले उम्मेदवारी दर्ता, शुल्क तथा आवश्यक कागजातबारे सूचना जारी गर्दै सभापति पदमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने जनाएको हो ।

त्यसैगरी, पदाधिकारीका लागि ४१ हजार रुपैयाँ शुल्क तोकिएको छ भने प्रस्तावक एक जना र समर्थक २१ जना तथा केन्द्रीय सदस्यको उम्मेदवार बन्न २१ हजार शूल्क, १ जना प्रस्तावक र २१ जना समर्थक चाहिने पनि सूचनामा उल्लेख छ ।

उम्मेदवारी दर्ताका लागि विवरण भरिएको उम्मेदवारी मनोनयन पत्र फाराम, उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर, अनुशासन कारबाहीमा नपरेको स्व–घोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो २ प्रति चाहिने पनि केन्द्रीय निर्वाचन आयोगको सूचनामा उल्लेख छ ।

निर्वाचन अयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । तालिका अुनसार आज राति साढे ८ बजे पार्टीको वेवसाइटमार्फत महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने दाबी विरोधका लागि भोलि राति साढे ८ बजेसम्मको समय तोकिएको छ। भोलि राति ११ बजे महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गरिने छ ।

८ गते दिउँसो १ बजेदेखि उम्मेदवारी मनोनयनका लागि फाराम वितरण गरी दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । ८ गते साँझ ६ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरी दाबी विरोधका लागि ७ बजेसम्मको समय छुट्याइएको छ । राति सबा ९ बजेसम्म उम्मेदवारहरुबारे जाँचबुझ र उम्मेदवारी फिर्ता लिने समय तय गरिएको छ । ८ गते राति ११ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । ९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । रास्वपाले विद्युतीय मतदान हुने जनाएको छ ।