काठमाडौं, असार ६ । सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको विषय गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहलाई पदबाट हटाइएको छ। कोषको अध्यक्ष समेत रहेकी कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले
राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराइ गुपचुप राखेको आरोपमा साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएर घटनाबारे छानबिन सु्रु गरेकी छन् ।
कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूको कारण पत्ता लगाउन प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा ३ सदस्यसीय छानबिन समिति बनाएको छ।
समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा मधु क्षेत्री सदस्य छन्। समितिलाई छानबिन गरेर प्रतिवेदन पेस गर्न एक साताको समय दिइएको छ।
वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको छ। चिडियाखानामा एक साताअघिबाटै पन्छी र जनावर मरेका भएपनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई साहले कुनै जानकारी नै दिएका थिएनन्।
चराचुरुंगीहरू मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लु फेला परेको थियो।



प्रतिक्रिया