रास्वपा सांसद पाण्डेको चेतावनी-‘मुहान क्षेत्रका स्थानीयले खानेपानी नपाए मेलम्चीको पानी रोक्छौँ’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका स्थानीयले खानेपानी नपाए काठमाडौंतर्फको पानी आपूर्ति नै रोक्ने चेतावनी दिएका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सुन्दरीजल र गोकर्णेश्वर क्षेत्रका स्थानीय बासिन्दा आफ्नै क्षेत्रमा रहेको आयोजनाको पानीबाट वञ्चित भएको भन्दै असन्तुष्टि जनाए ।

उनले गोकर्णेश्वर नगरपालिकाका १ देखि ९ वडासम्मका बासिन्दा पानीको अभावमा कष्टकर जीवन बिताउन बाध्य भएको बताए । खानेपानी वितरण प्रणालीमा कर्मचारी र प्राविधिकको मिलेमतोका कारण कतिपय टोलमा पानी पुग्ने र कतिपयमा नपुग्ने अवस्था रहेको उनको भनाइ छ ।

‘ड्याम गोकर्णेश्वरमा छ, तर त्यहाँका १ देखि ९ वडाका बासिन्दा पानी नपाएर तड्पिरहेका छन् । मुहान क्षेत्रका बासिन्दाले पानी खान नपाउने तर त्यहीँबाट अन्यत्र पानी पठाउने कार्य अब सह्य हुँदैन । यदि स्थानीयको समस्या तत्काल सम्बोधन भएन भने हामी ड्याम नै बन्द गरेर पानी रोक्न बाध्य हुनेछौँ ,’ उनले भने ।

आफू अन्य नेताजस्तो आश्वासन मात्रै दिने पक्षमा नरहेकाे बताउँदै गोकर्णका जनताले पानी नपाए आफैँ अगाडि लागेर पानी रोक्ने चेतावनी दिए ।