गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति भएको छ : मुख्यमन्त्री आचार्य


बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले) का पूर्वकेन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्।

गौतमको १३औँ दिनको पुण्यतिथिमा नेकपा (एमाले) बाँके जिल्ला कमिटीले साेमबार बाँकेको खजुरा गाउँपालिका–२ स्थित गौतम निवासमा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री आचार्यले गौतमलाई सादगीपूर्ण जीवनशैली, निष्ठापूर्ण राजनीतिक यात्रा र जनतामाझ लोकप्रिय व्यक्तित्वका रूपमा स्मरण गरे।

जिल्ला पार्टीले एक सच्चा, इमानदार र कर्तव्यनिष्ठ अभिभावक गुमाएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले गौतमले अघि सारेका विचार र सिद्धान्तलाई आत्मसात् गर्दै अधुरा काम पूरा गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

उनले गौतमप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्ने माध्यम उहाँका विचार, सिद्धान्त र योगदानलाई व्यवहारमा निरन्तरता दिनु भएको बताउनुभयो । गौतम गुल्मीको थोर्गामा जन्मिएर बाँकेलाई कर्मथलो बनाएका थिए।