कुलमान तामाङ । आज देशको पछिल्लो घटनाक्रमबारे केही लेख्न मन लाग्यो। कसैलाई दोष लगाउने उद्देश्य छैन, न त कसैप्रति पूर्वाग्रह नै छ। तर यो लेख लेख्न हातका औँलाहरू चलाउँदै गर्दा मन भारी भएको छ। पटक–पटक लेख्न खोजेँ, फेरि रोकिएँ, सोचें, अनि पुनः लेख्न बाध्य भएँ।
हुन त म सामाजिक सञ्जालमा सक्रिय भए पनि सानातिना स्टाटसभन्दा बाहेक लामो लेख खासै लेख्दिनँ। तर आज केही शब्द लेख्नैपर्छ भन्ने लाग्यो । देशमा जे–जे भइरहेको छ, त्यसले धेरै प्रश्नहरू जन्माएको छ। नागरिकका रूपमा ती प्रश्न उठाउनु हाम्रो अधिकार मात्र होइन, दायित्व पनि हो। आलोचना गर्नु भनेको कसैको विरोध गर्नु मात्र होइन; गल्ती देखिएको ठाउँमा सुधारको अपेक्षा गर्नु पनि हो। त्यसैले यो लेख कुनै व्यक्ति, दल वा निकायलाई दोषी ठहर गर्न होइन, बरु हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता महसुस गरेर लेख्दै छु।
यदि हाम्रो संयमता, जिम्मेवारी र विवेक समयमै जागेन भने, आजका घटनाहरू भोलिको अझ ठूलो समस्याको कारण बन्न सक्छन्। तसर्थ यी र यस्ता घट्नाहरु दोहोरिन नदिन नागरिक र सरकार एकसाथ जुट्नुपर्नेछ ।
मैले यसमा लामो विषयवस्तु उठाउन खोजिएको छैन । न त पुरानो घटनाहरुको बारेमा नै । पछिल्ला केही दिनयता(विशेष असार २५ ,२०८३)यता घटेका घटनाक्रमहरूले सिंगो देशको अवस्थालाई उजागर गरेको छ । सडकमा गुडिरहेको गाडीबाट सिलिन्डर उछिट्टिएर पैदलयात्रीको ज्यान जानु, अविरल वर्षाका कारण थातथलो छाड्न बाध्य बनाइएका सुकुमवासीहरू आश्रयस्थलमै डुबानमा पर्नु र लगातार एकपछि अर्को गर्दै नागरिकले आत्मदाह र आत्महत्याको बाटो रोज्नु सामान्य दुर्घटना मात्र होइनन्। यी घटनाहरूले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली र गृहमन्त्री सुधन गुरुङको ‘एक्सन’ माथि गम्भीर नैतिक र राजनीतिक प्रश्नहरू खडा भएका छन्।
मुगुका २५ वर्षीय गणेश नेपालीले राहदानी विभाग अगाडि(बिहीवार ,असार २५) आत्मदाहको प्रयास गरे । उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार बिहान ११ बजेतिर उनले ज्यान गुमाए । समाचारमा आएअनुसार पठाओ चलाएर जिविकोपार्जन गर्दै आइरहेका नेपालीको महानगर प्रहरीले बाइकमा ‘व्हिल लक’ लगाएपछि उक्त घटना भएको बुझिएको छ ।

बिहिवार रातभर गृहमन्त्री सुधन गुरुङसहितका सुरक्षा निकाय,वीर अस्पतालका चिकित्सक टोलि, प्रधानमन्त्रीको सचिवालय र परराष्टमन्त्रालयसमेत उनको ज्यान बचान लागिपरे । थप उपचारको लागि भारतमा लैजाने सबै तयारी गर्दा पनि उनको ज्यान बचाउन नसक्दा आफुलाई धेरै नै दु:ख लागेको कुरा गृहमन्त्री गुरुङले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बताए । उनी सदनमा सुरुमै बोल्न समेत सकेनन् । उनी रोस्ट्रममा जाँदैगर्दा नै भावुक देखिन्थे । विपक्षी सांसदहरू घटनाको बारेमा आवाज उठाएपछि उनले नेपालीलाई बचाउन अथक प्रयास गरेको जानकारी गराए । ‘हामीले अथक प्रयास गरेकै हो । श्री एयरलाइन्सको प्लेन रेडी गरेकै हो । अनुमति लिएकै हो । चिकित्सकले स्टेबल राख्नुपर्यो भन्नुभयो । उहाँको ब्लड प्रेसर नै लो भएको थियो,’ गुरुङले भने । उनले सम्बोधन गर्दैगर्दा रास्वपाका आधादर्जन बढी सांसदहरुको आँखामा आँसु देखिन्थ्यो ।
घटनालाई लिएर सडकदेखि सदनसम्म विभिन्न आवाज उठ्यो । केही समूहले ठाउँ-ठाउँमा सरकारविरुद्ध प्रदर्शन गरे । चितवनमा एक संगठनले प्रधानमन्त्री बालेन शाहको पुत्ला दहन गर्ने क्रममा आफ्नै ज्यानसम्म झण्डै फालेनन् ।
गणेशको परिवारले ‘सरकारको ज्यादतीका कारण’ घटना भएको भन्दै शव बुझ्न मानेका छैनन् । परिवार र सरकारका प्रतिनिधिबिच वार्ता भएपनी सहमति नभएपछि उनको शवलाई सुरक्षित राख्न शुक्रवार मध्यराति टिचिङ अस्पतालमा लगिएको छ ।
त्यस्तै,शुक्रवार अपरान्ह सर्लाहीका विवेक मण्डल र बुद्धनगरका आश्विन राउतले सनिवार बिहानै पारिवारिक विवादका कारण आत्मदाहको प्रयास गर्नुले समाजमा गहिरिँदै गएको मानसिक तनाव, आर्थिक दबाब र राज्यको सामाजिक सुरक्षा संयन्त्रको शून्यतालाई उजागर गरेको छ । मण्डल र राउत दुबैजनाको अहिले उपचार जारी छ ।
त्यस्तै, उपत्यकाका विभिन्न खोला किनारका सुकुमवासीलाई ‘सुरक्षित ठाउँमा स्थानान्तरण’ गर्ने भन्दै बस्तीबाट जबर्जस्ती हटाएर कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखियो। तर, अविरल वर्षा हुँदा त्यो होल्डिङ सेन्टर नै डुबानमा परेको छ । राति २ बजे बाढी पस्दा बालबालिका, वृद्धवृद्धाले लत्ताकपडा र औषधि समेत निकाल्न पाएनन्। सुरक्षाकर्मीहरू उद्वारको लागि राति २ बजेपछि मात्र पुग्नुले सरकारको पूर्वतयारी र उद्धार संयन्त्र कति फितलो छ भन्ने देखाउँछ ।

सुकुमवासीलाई विकल्प दिने नाममा दलदलमा धकेल्ने यो कस्तो व्यवस्थापन हो? रास्वपाको बाचापत्रमा लेखिएका सुन्दर शब्दहरू र भुइँमान्छेले भोग्नुपरेको यो बिचल्लीबीचको दूरीले वर्तमान सरकारको ‘कथनी र करणी’ मा ठुलो खाडल रहेको देखिन्छ ।
यस्तै , शुक्रबार बिहान माकलबारीमा गुडिरहेको गाडीमा अक्सिजन सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट भएर स्कुटर चालक विष्णु थापाको ज्यान जानु सामान्य घटनाको रूपमा लिनु हुँदैन । यो सवारी सुरक्षा जाँच र गुणस्तर नियन्त्रणमा राज्यका नियामक निकायहरूको पूर्ण असफलता हो। ट्राफिकले कति बेला गल्ती गर्छ र चिट काटौँ भनेर मात्रै बस्ने होइन , सवारी साधनको अवस्था बारे पनि बुझ्न जरुरी छ ।
सडकदेखि सदनसम्म सल्किएको यो आक्रोश र उठिरहेका प्रश्नहरू बालेन्द्र शाह नेतृत्वको सरकारका लागि गम्भीर चेतावनी हुन्। स्टन्ट र प्रचारबाजीले केही समयका लागि जनआक्रोश मत्थर पार्न सकिएला, तर जबसम्म प्रणालीमा सुधार आउँदैन, तबसम्म यस्ता दुःखद घटनाहरू दोहोरिइरहनेछन्। तसर्थ, सरकारले समयमै आफ्नो कार्यशैलीलाई सच्याउन आवश्यक छ ।
आम नागरिकले पनि जीवनमा आउने आर्थिक, सामाजिक, मानसिक जटिलताहरूसँग लड्नका लागि धैर्य, संवाद र कानुनी बाटोहरूलाई रोज्नुपर्छ । क्षणिक आवेग वा निराशामा आएर आफ्नो अमूल्य जीवन समाप्त गर्नु समस्या समाधानको पाटो होइन । विपक्षी दलहरूले पनि यो बेला सरकारलाई आवस्यक सहयोग गर्नुपर्छ । नागरिकको यस्तो चरम निराशा र बाध्यतालाई राजनीतिक रोटी सेक्ने माध्यम बनाइनु हुँदैन। नागरिकको लास र आँसुमाथि राजनीतिकरण गर्नु घोर अमानवीयता हो। यो समय कसैले कसैलाई राजनीतिक रूपमा खुइल्याउने वा राजनीतिक फाइदा उठाउने खेल खेल्ने बेला होइन। बरु, सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर यस्ता घटनाहरू किन भइरहेका छन् । त्यसबारे गहिरो अध्ययन गर्न जरुरी छ । सरकारले पनि मर्न लागेका नागरिकहरुलाई बाँच्ने आशा जाग्नेगरी तत्काल कदम चाल्नु आवश्यक छ । हिजो, ३५ वर्षसम्म के गर्यो ? भन्दै पुराना दलहरूमाथी प्रश्न तेर्साउँदै उदाएकाहरुले पनि आम नागरिकलाई आशा र भरोसा दिलाउन सक्दैन भने अब यो देश बनाउँछ भनेर कसलाई गर्ने विश्वास ?



प्रतिक्रिया