गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग


काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारको क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका सभापति गगन थापाले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

कांग्रेस सभापति थापाले नेपालीको परिवारलाई आफ्नो तर्फबाट राहत स्वरुप एक लाख रुपैयाँ सहयोग गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

सभापति थापाले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै, शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले २५ असारको दिन त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा आफ्नो मोटरसाइकलको पेट्रोल निकालेर आफैंले शरीरमा आगो लगाएका थिए । उनको उपचारको क्रममा बीर अस्पतालमा निधन भएको थियो ।

थापाले आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका सर्लाही जिल्ला, गोडैता नगरपालिका–१०, सिसौटिया निवासी  ३५ वर्षीय स्वर्गीय विवेक मण्डलको परिवारलाई पनि एक लाख सहयाेग गरेका छन् ।