भोटेकोशी बाढीपीडितका लागि गुठीचौर गाउँपालिकाद्वारा १२ लाख सहयोग


जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि रु १२ लाख ६७ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको मंगलबारको बैठकले प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताए । गाउँपालिकाले विपद्को यस कठिन घडीमा बाढीपीडितका लागि राहत तथा पुनः स्थापनाका काममा ऐक्यबद्धता जनाउँदै सबैलाई सहयोगको अपिलसमेत गरेको उनले बताए ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम सङ्कलन गर्ने गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्लले जानकारी दिए । भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै बाढीपीडितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ ।