चीनले टिमुरे–केरुङ सडक खोल्यो


काठमाडौ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले बगाएको टिमुरे–केरुङ सडक चीनले पुनः सञ्चालनमा ल्याएको छ।

बाढीपछि चीनले रातदिन निरन्तर काम गरेर सडक मर्मत तथा पुनःनिर्माण गरी बुधबार बिहानदेखि आवागमन सञ्चालनमा ल्याएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। भदौ १० गते भोटेकोसीमा आएको बाढीले नेपालतर्फको टिमुरे नाका र चीनतर्फको केरुङ पोर्ट जोड्ने सडक तथा संरचनामा ठूलो क्षति पुर्‍याएको थियो।

बाढीले सडकको ठूलो हिस्सा बगाएपछि दुई देशबीचको स्थलमार्ग सम्पर्क अवरुद्ध भएको थियो। सिन्ह्वाका अनुसार बुधबार बिहान करिब ८ बजेदेखि सडक सञ्चालनमा आएको हो। सडक खुलेसँगै चिनियाँ उद्धार टोली, राहत सामग्री तथा आवश्यक उद्धार उपकरण मुख्य प्रभावित क्षेत्रमा पुर्‍याउन थालिएको छ।

चीनतर्फ सडक सञ्चालनमा आएर उद्धार कार्य अघि बढिसकेको भए पनि नेपालतर्फबाट भने अझै टिमुरे नाकासम्म सहज रूपमा पुग्न सकिने अवस्था बनेको छैन।चिनियाँ  उद्धार टोली केरुङ पोर्टसम्म पुगिसकेको छ। सडक पुनः सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।