काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभासमक्ष क्षमा मागेकी छन्।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरूले कानुन निर्माणमा राष्ट्रियसभाले बाधा पुर्याएको भन्ने उनको अभिव्यक्तिमाथि आपत्ति जनाएपछि मन्त्री गौतमले क्षमायाचना गरेकी हुन्।
बैठकलाई सम्बोधन गर्दै मन्त्री गौतमले भनिन्, “मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु।”
आफ्नो भनाइ स्पष्ट पार्दै उनले प्रतिनिधिसभामा दुई-तिहाइ बहुमत भए तापनि कानुन निर्माण प्रक्रिया प्रतिनिधिसभाको बहुमतले मात्र पूर्ण नहुने संवैधानिक व्यवस्थाको तथ्य मात्र स्मरण गराएको दाबी गरिन्। कानुन बन्न प्रतिनिधि सभा, राष्ट्रिय सभा र राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने जटिल संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले राष्ट्रिय सभाले असहयोग गर्यो भनेर आफूले कुनै पनि आपत्तिजनक शब्द प्रयोग नगरेको स्पष्ट पारिन्।
आफू राजनीतिक व्यक्ति भएकाले आफ्ना भनाइलाई पत्रकार तथा सामाजिक विश्लेषकहरूले फरक-फरक ढङ्गले व्याख्या गरेको तर्क गर्दै मन्त्री गौतमले आफूले नबोलेका कुरा र मिडियाका व्याख्याप्रति आफू जिम्मेवार हुन नसक्ने बताइन्। उनले आगामी दिनमा सरकार र राष्ट्रिय साभाबिच सुमधुर समन्वय कायम गरी कानुन निर्माणका कार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।




प्रतिक्रिया