काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा स्थित चिलिमे जलविद्युत आयोजनामा फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मीहरूले तीव्र रुपमा काम गरिरहेका छन् । उद्धार समन्वयका लागी आयोजना स्थलमा पूर्व उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङ पनि लागि परेका छन् ।
उद्धार कार्यमा सहभागी हुँदै उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय तथा सहजीकरण गरिरहेको घिसिङले फेुसबुकमार्फत जानकारी दिएका छन्।
घिसिङका अनुसार सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको छ। उक्त स्थानबाट चिसो हावा समेत आइरहेको भन्दै उनले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा बलियो भएको बताएका छन्।
हाल उद्धार टोली विद्युतगृह पुग्न करिब १०० मिटर दूरीमा रहेको जानकारी दिँदै घिसिङले प्रत्येक मिटरको प्रगति र प्राप्त हुने प्रत्येक संकेतले नयाँ आशा जगाएको उल्लेख गरेका छन्।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत कम्पनीका कर्मचारीहरू परिचालित छन्।




प्रतिक्रिया