चोभारको पानी निकासमा वैकल्पिक व्यवस्था खोज्न मदनकृष्ण श्रेष्ठको सुझाव


काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौं उपत्यकामा बाढीको जोखिम न्यूनीकरण गर्न चोभारको पानी निकास प्रणालीको विकल्प खोज्न काठमाडौं महानगरपालिकालाई सुझाव दिएका छन्। आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै श्रेष्ठले उपत्यकामा बढ्दो जनघनत्व र विभिन्न दिशाबाट आउने पानीका कारण चोभारको निकास प्रणाली थप संवेदनशील बनेको बताए।

काठमाडौंको विभिन्न क्षेत्रबाट जम्मा हुने पानी अन्ततः चोभार हुँदै बाहिरिने भएकाले त्यहाँको निकास साँघुरो रहेको अवस्थामा कुनै अवरोध आए ठूलो विपद् निम्तिन सक्ने उनले बताए । त्यसैले सम्भावित जोखिम कम गर्न वैकल्पिक पानी निकासका रूपमा सुरुङ निर्माणको सम्भावनाबारे अध्ययन गर्न उनले आग्रह गरेका हुन्।

उनले भने, ‘काठमाडौं उपत्यका जोखिममुक्त छैन। धेरै ठाउँबाट आउने पानी अन्ततः चोभारतर्फ नै निकास हुन्छ। त्यसको क्षमता पर्याप्त नभए भविष्यमा ठूलो विपद् निम्तिन सक्छ। त्यसैले वैकल्पिक पानी निकासका लागि सुरुङ निर्माणको सम्भावनाबारे अहिले नै अध्ययन गर्न आवश्यक छ।’

चोभारको एउटै निकासमा मात्र निर्भर रहँदा भविष्यमा समस्या उत्पन्न हुन सक्ने भन्दै श्रेष्ठले विपद् आइसकेपछि समाधान खोज्नुभन्दा जोखिम पहिचान गरी समयमै वैकल्पिक उपाय तयार गर्नु उपयुक्त हुने बताए।