युएन महासभामा बालेनले गरेको सम्बोधनलाई समर्थन गर्दै ऐन महरले भने-‘राजा महेन्द्रको कपि नगरे हुन्थ्यो’


काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा आत्मविश्वासको कमी देखिएको टिप्पणी गरेका छन्।


रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भएको सम्बोधनबारे धारणा राख्दै महरले प्रधानमन्त्रीको सम्बोधन ठीक रहेको भन्दै समर्थन जनाए। ‘प्रधानमन्त्रीको सम्बोधन ठीक छ, हाम्रो समर्थन छ। प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गर्दछु,’ उनले भने।


यद्यपि प्रधानमन्त्रीको प्रस्तुति र शैलीप्रति उनले केही टिप्पणी गरे। प्रधानमन्त्रीका रूपमा सम्बोधन गर्दा बालेनमा आत्मविश्वासको कमी देखिएको महरको धारणा थियो।


सामाजिक सञ्जालमा प्रधानमन्त्रीको शैली राजा महेन्द्रको शैलीसँग मिलाउन खोजिएको जस्तो देखिएको टिप्पणी गर्दै उनले भने, ‘त्यसो नगरे हुन्थ्यो। यस्तो जनमत पाएको प्रधानमन्त्रीले राजा महेन्द्रको कपि नगरे हुन्थ्यो।’


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा समेत प्रधानमन्त्रीले हात मिलाउनेभन्दा फोटो खिच्नेतर्फ बढी ध्यान दिएको जस्तो देखिएको महरले टिप्पणी गरे।


प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा तामझाम नगरेकोप्रति महरले त्यसलाई परिस्थितिसँग जोडेर हेर्नुपर्ने बताए। देशमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति र मानिसहरू बेपत्ता भएको अवस्थामा तामझाम गरेर विदेश जानुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।


‘तामझाम गरेर जाने स्थिति पनि थिएन। धेरै मान्छे बेपत्ता छन्, आफन्त गुमाएका छन्। यो बेला तामझाम गर्नुपर्ने पनि थिएन,’ महरले भने।