इनमको अडियो लिक र पत्रकार पक्राउ प्रकरणमा गृहमन्त्री र आईजीपीसँग जवाफ माग्न नेकपाको माग


काठमाडौँ । प्रहरी हिरासतबाट अडियो बाहिरिएको तथा पत्रकार पक्राउ र रिहाइका घटनाबारे सरकारसँग जवाफ माग्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेको छ ।

नेकपाका प्रमुख सचेतक तथा समिति सदस्य युवराज दुलालले सभापति हरि ढकाललाई पत्र लेख्दै गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी)लाई समितिमा बोलाएर घटनाबारे जवाफ लिनुपर्ने बताएका छन् ।

दुलालले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियो कसरी बाहिरियो र त्यसैसँग जोडेर प्रधानमन्त्री तथा उनका प्रमुख सल्लाहकार कुमार वेनले सामाजिक सञ्जालमा लेखेका अभिव्यक्तिको आधार के हो भन्ने प्रश्न उठाएका छन् ।

त्यस्तै, पत्रकार पक्राउ पर्ने र रिहा हुने तर सरकारले घटनाबारे आफूलाई जानकारी नभएको भन्दै पन्छिने प्रवृत्तिप्रति पनि उनले आपत्ति जनाएका छन् ।

सरकारी निकायका गतिविधि र पछिल्ला घटनाक्रमबारे गम्भीर प्रश्न उठेको भन्दै दुलालले गृहमन्त्री र आईजीपीलाई समितिमा उपस्थित गराएर जवाफदेही बनाउनुपर्ने बताएका छन् ।

यस विषयमा समितिका सभापति ढकालसँग पनि कुराकानी गरेको दुलालले जानकारी दिए । उनका अनुसार सभापति ढकालले मागलाई सकारात्मक रूपमा लिँदै समिति सदस्यहरूको उपलब्धता हेरेर सम्भव भएसम्म छिट्टै बैठक बोलाउने आश्वासन दिएका छन् ।