१८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गर्ने विषयमा सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताको भनाइ बाझिएको छ।
मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पार्टीको निर्देशनअनुसार आईजीपीको जिम्मेवारी फेरबदल गरिएको बताएका थिए।
‘संवेदनशील विषयमा सरकारले केही गर्नुपर्यो भनेर पार्टीबाट पनि निर्देशन आएको थियो,’ पोखरेलले भनेका थिए, ‘त्यो भएको हुनाले जिम्मेवारी फेरबदल गरेको हो।’
तर, रास्वपाका प्रवक्ता जगदीश खरेलले भने पार्टीले कुनै व्यक्तिलाई पदमा राख्न वा हटाउन सरकारलाई निर्देशन नदिएको र यस विषयमा हस्तक्षेप पनि नगरेको बताएका छन्।
‘सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्छ। कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने काम पार्टीले गर्दैन,’ उनले भने।
‘पार्टीले कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने खालको निर्देशन दिँदा पनि दिँदैन, दिएको पनि छैन। पार्टीको भूमिका यसमा छैन,’ उनले भने।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै एआईजी मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया