काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउने मन्त्रिपरिषद्को निर्णयप्रति राष्ट्रिय जेन्जी नागरिक अभियानले गम्भीर आपत्ति जनाएको छ।
अभियानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको निर्णय पुनर्विचार गर्न माग गरेको हो।
प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गर्नु सामान्य पद परिवर्तन मात्र नभई प्रहरी संगठनको संस्थागत स्वायत्तता, व्यावसायिक मर्यादा र मनोबलमाथिको प्रहार भएको अभियानको ठहर छ।
प्रहरी संगठनलाई राजनीतिक स्वार्थ र उद्देश्यअनुसार प्रयोग गर्ने मनसायबाट निर्णय गरिएको भन्दै अभियानले सरकारको कदमप्रति असन्तुष्टि जनाएको छ।
कुनै व्यक्तिले गल्ती गरेको वा कानुनविपरीत कार्य गरेको भए निष्पक्ष छानबिन गरी तथ्य र प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अभियानको भनाइ छ।
प्रहरी नियमावली तथा स्थापित विधि र प्रक्रियालाई बेवास्ता गर्दै जिम्मेवारी हेरफेर गर्नु राज्य शक्तिको दुरुपयोग भएको विज्ञप्तिमा उल्लेख छ।
प्रहरी संगठन कुनै व्यक्ति वा सरकारको निजी स्वार्थ पूरा गर्ने संयन्त्र नभई राज्य र नागरिकको सुरक्षाप्रति उत्तरदायी संस्था भएको जनाउँदै अभियानले प्रहरीको व्यावसायिकता, निष्पक्षता र संस्थागत गरिमामाथि प्रश्न उठ्ने गरी निर्णय नगर्न सरकारलाई आग्रह गरेको छ।
अभियानले नेपाल प्रहरीको संस्थागत मर्यादा, व्यावसायिक स्वतन्त्रता र विधिको शासनको सम्मान गर्दै मन्त्रिपरिषद्को निर्णय तत्काल पुनर्विचार गर्न सरकारसँग जोडदार माग समेत गरेको छ।





प्रतिक्रिया