आईजीपी हटाउने निर्णयको औचित्य सरकारले पुष्टि गर्छ : रवि लामिछाने


१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णयको औचित्य सरकारले नै पुष्टि गर्ने बताएका छन्।

बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आईजीपी परिवर्तनको विषय संवेदनशील भएकाले सरकारले उपयुक्त समयमा निर्णयको कारण स्पष्ट पार्ने विश्वास व्यक्त गरे।

‘आईजीपी प्रकरणमा सरकारले काम गर्न आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको हो। त्यो सरकारले पुष्टि गर्ला,’ उनले भने।

उनले प्रहरी संगठनभित्र आईजीपी, डीएसपी वा इन्स्पेक्टर परिवर्तन गर्न पार्टीले सरकारलाई निर्देशन नदिने पनि स्पष्ट पारे। यसबारे पार्टी प्रवक्ताले आफ्नो धारणा सार्वजनिक गरिसकेको उनको भनाइ थियो।

पार्टी र सरकारबीच समन्वय नभएको भन्ने चर्चालाई अस्वीकार गर्दै लामिछानेले सरकारले आफ्नै ढंगले काम गरिरहेको बताए।