काठमाडौं । एसियाकै पहिलो संस्करणका रूपमा आयोजना भइरहेको ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ मा नेपालका तर्फबाट गायक प्रतीक हिमाल राईले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको ग्रान्ड फाइनल भोलि (शनिबार) थाइल्यान्डको बैंककमा हुँदैछ ।
नोभेम्बर १४ मा बैंककस्थित वान बैंकक फोरममा आयोजना हुने फाइनलमा नेपालसहित ११ देशका कलाकारले आ–आफ्नो प्रस्तुति दिनेछन् । प्रतियोगितामा प्रतीक हिमाल राईले ‘अनन्त माया’ बोलको गीत प्रस्तुत गर्नेछन् ।
राईले अक्टोबर ७ मा सम्पन्न नेपालको राष्ट्रिय छनोट प्रतियोगिता ‘नेपाल डिसाइड्स’ जित्दै युरोभिजन एसियामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । उक्त छनोटमा ११ कलाकार सहभागी थिए ।
गायन, गीत लेखन तथा संगीत क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका राईले नेपाली लोक, पप, स्लो रक तथा ब्यालेड शैलीका गीतमा काम गर्दै आएका छन् । संगीतमा स्नातक गरेका उनी आफ्नो प्रस्तुतिमार्फत नेपाली संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने लक्ष्यसहित प्रतियोगितामा सहभागी भएका हुन् ।
प्रतियोगितामा नेपालबाहेक थाइल्यान्ड, दक्षिण कोरिया, मलेसिया, भियतनाम, कम्बोडिया, लाओस, मंगोलिया, भुटान, फिलिपिन्स र बंगलादेशका कलाकारले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको प्रस्तुति क्रमअनुसार प्रतीक हिमाल राई दशौँ नम्बरमा मञ्चमा उत्रिनेछन् । अन्तिम प्रस्तुति मलेसियाका कलाकारले दिनेछन् ।
ग्रान्ड फाइनल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ । प्रतियोगिता हिमालय टेलिभिजन तथा युरोभिजनको आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्ष हेर्न सकिनेछ ।
कसरी गर्ने भोट ?
प्रतियोगितामा दर्शकले आधिकारिक वेबसाइटमार्फत आफ्नो मनपर्ने कलाकार तथा देशलाई भोट गर्न सक्नेछन् । भोटिङका लागि युरोभिजन एसियाको आधिकारिक वेबसाइट प्रयोग गर्नुपर्नेछ ।
दर्शकले आठवटा निःशुल्क भोट गर्न पाउने व्यवस्था छ । ती भोट कम्तीमा तीन फरक देशका प्रस्तुतिमा बाँड्नुपर्नेछ । थप भोटका लागि पैसा लाग्नेछ ।
तर प्रतियोगिताको नियमअनुसार सहभागी देशका दर्शकले आफ्नै देशलाई भोट गर्न पाउने छैनन् । त्यसैले नेपालबाट भोट गर्ने दर्शकले प्रतीक हिमाल राईलाई प्रत्यक्ष भोट गर्न पाउने छैनन् । नेपालबाहिर रहेका र प्रतियोगितामा सहभागी नभएका देशका दर्शकले भने ‘Rest of the World’ भोटिङमार्फत नेपाललाई समर्थन गर्न सक्नेछन् । जसअन्तर्गत प्रतिकलाई नेपाल भन्दा बाहिर देशमा रहेका नेपाली समर्थकहरुले भाेट हाल्न सकिनेछ ।
प्रतियोगिताको अन्तिम नतिजामा दर्शकको मतको ५० प्रतिशत र सहभागी ११ देशका निर्णायक मण्डलको मतको ५० प्रतिशत भार रहनेछ ।
एसियाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना भइरहेको यस प्रतियोगितामा नेपालको पहिलो सहभागितालाई नेपाली संगीत क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
अब प्रतीक हिमाल राईको प्रस्तुति र नतिजालाई नेपाली संगीतप्रेमीले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् । ‘अनन्त माया’ मार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्ने उनको प्रयास कस्तो रहन्छ भन्ने चासो बढेको छ ।




प्रतिक्रिया