काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले वर्तमान प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई पूरा पाँच वर्ष काम गर्न दिनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले सरकार बनेको ७ महिनामै सरकार ढाल्ने हल्ला चल्नुले देशलाई अस्थिरतातर्फ धकेल्ने जिकिर गरे । ‘सरकार ढाल्ने कुरा छाडेर प्रतिपक्षीहरूले पनि देश बनाउने कुरा गर्नुपर्छ,’ उनले भने, ‘दुई तिहाइको सरकारले काम गर्न सकेन भने कसले सक्छ ? अहिले पनि देश बनेन भने कहिले पनि बन्दैन ।’
प्रधानमन्त्रीले सबै राजनीतिक दलका अध्यक्षहरूलाई बोलाएर विकास निर्माणका विषयमा छलफल गर्नुपर्ने र त्यसको अगुवाइ सरकारले लिनुपर्ने उनको सुझाव छ । सरकारलाई ढाल्नेभन्दा पनि सुशासन कायम गर्न र भ्रष्टाचारीलाई कारबाही गर्न सुझाव दिनुपर्नेमा धमलाले जोड दिए । राजनीतिक दलहरू पार्टीको स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा उभिनुपर्ने धमलाको भनाइ छ ।
सोही क्रममा छठ पर्वको शुभकामना दिँदै धमलाले छठले एकताको सन्देश दिने बताए । तर, भीमफेदीमा भएको सडक दुर्घटनाका कारण यतिबेला सर्लाही शोकमा डुबेको उल्लेख गर्दै उनले दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाउन र सवारी साधनमा यात्रु क्षमताको कडाइका साथ निक्र्यौल गर्न माग गरे ।
भोटेकोशीको बाढीले पृथ्वी राजमार्गका धेरै भाग क्षतिग्रस्त बनाएको स्मरण गराउँदै धमलाले वैकल्पिक राजमार्ग र फास्ट ट्र्याक निर्माणको कामलाई सरकारले तीव्रता दिनुपर्ने बताए । साथै, बाढीपीडितको पुनस्र्थापनामा ढिलाइ नगर्न पनि धमलाले सरकारको ध्यानाकर्षण गराए ।
आफू देश बनाउने अभियानमा होमिएको बताउँदै धमलाले मधेशमा निःशुल्क शिक्षा, स्वास्थ्य, व्यवस्थित बसोबास र जनता आवासलगायतका मुद्दाहरू उठाउँदै आएको जानकारी दिए । अध्यक्ष धमलाले अब आन्दोलनको कुरा छाडेर सबै पक्ष देश निर्माणमा जुट्नुपर्ने बताए ।




प्रतिक्रिया