धनगढी । बाजुराको बुढीनन्दा नगरपालिका–९ अंगाउपानीमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। मंगलबार राति मार्तडीबाट कोल्टीतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो।
प्रहरीका अनुसार राति करिब ८ बजे सुदूरपश्चिम प्रदेश ०१–००२ त ४२४३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो।
दुर्घटनामा कैलालीको घोडाघोडी नगरपालिका–१० निवासी २६ वर्षीय चालक जमुना थारु घाइते भएका छन्। उनको शरीरमा बाहिरी चोटपटक नदेखिए पनि भित्री चोट लागेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइते थारुलाई पाण्डुसैन स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई कोल्टी आधारभूत अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटना हुनुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया