३ मंसिर, काठमाडौं । आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाएको निर्वाचन आयोगले राजनीतिक दलहरूसँग परामर्श गर्ने भएको छ। आयोगले निर्वाचनको मिति घोषणा, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त ६ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ।
आयोगले शुक्रबार बिहान साढे ११ बजेका लागि छलफल तय गरेको हो। आयोगका आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार छलफलमा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका राजनीतिक पार्टीका प्रतिनिधिहरू सहभागी हुनेछन्।
प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई छलफलका लागि आमन्त्रण गरिएको छ।
स्थानीय तहका वर्तमान जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा समाप्त हुँदैछ। त्यसलाई मध्यनजर गर्दै आयोगले नयाँ निर्वाचनको तयारी थालेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी निर्वाचनको सम्भावित मिति, निर्वाचन व्यवस्थापन, आवश्यक तयारी तथा अन्य प्राविधिक विषयमा दलहरूको सुझाव लिन छलफल आयोजना गरिएको हो।
राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको प्रारम्भिक छलफलपछि आयोगले अन्य दर्तावाल राजनीतिक दलहरूसँग पनि क्रमशः परामर्श गर्ने जनाएको छ।




प्रतिक्रिया