काठमाडौं। हस्तमाया बस्नेतबाट आफू जग्गा तथा आर्थिक कारोबारका क्रममा ठगीमा परेको आरोप लगाउँदै एकल महिला अम्बिका देवी बस्नेत पनि न्यायको माग गरेकी छन्। उनले आफूलाई सुरुमा ४५ लाख रुपैयाँ ऋण सापटी दिएर जग्गा धितोका रूपमा लिएको र पछि बैंकमार्फत ६० लाख रुपैयाँ फिर्ता गरिसक्दा पनि जग्गा फिर्ता नगरेको आरोप लगाएकी छन्।
आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो पीडा सार्वजनिक गर्दै अम्बिका देवी बस्नेतले झापाको सुरुङ्गास्थित साढे ११ कठ्ठा जग्गा दुई वर्षभित्र फिर्ता गर्ने सर्तमा हस्तमाया बस्नेतलाई राजीनामा पास गरेर दिएको बताइन्।
उनका अनुसार हस्तमाया बस्नेतले सुरुमा ४५ लाख रुपैयाँ ऋण सापटी लिएकी थिइन्। तर दुई वर्षको अवधि पूरा नहुँदै आफूले एक महिनाभित्रै बैंकिङ माध्यमबाट ६० लाख रुपैयाँ फिर्ता गरिसकेको उनको दाबी छ। उक्त रकम हस्तमाया बस्नेत, उनका ज्वाइँ निर्वाचन कार्की, विन्दा गिरी तथा सुमीर प्रसाईँलगायतका नाममा विभिन्न बैंक खातामार्फत पठाएको उनले बताइन्।
तर रकम फिर्ता गरिसक्दा पनि आफ्नो साढे ११ कठ्ठा जग्गा फिर्ता नपाएको उनको भनाइ छ।
थप जग्गा कारोबारमा समेत जोडेर ठगी गरेको आरोप
अम्बिका देवीका अनुसार सुरुङ्गाको जग्गा फिर्ता गर्ने भन्दै हस्तमाया बस्नेतले पछि झापाको बिर्तामोड शनिश्चरे हाटस्थित तीन कठ्ठा जग्गा पनि खरिद गर्न प्रस्ताव गरेकी थिइन्। उक्त जग्गा कारोबार भएपछि पहिलेको जग्गासमेत फिर्ता गरिदिने आश्वासन दिइएको उनको भनाइ छ।
त्यसपछि आफूले उक्त जग्गा कारोबार अघि बढाएको र लाभकरलगायत आवश्यक खर्चसमेत तिरेको उनले बताइन्। कारोबारको प्रक्रिया मालपोत कार्यालयसम्म पुगेपछि हस्तमाया बस्नेतले काठमाडौंँबाट तीन करोड रुपैयाँ पठाउन लागेको भन्दै सुरक्षाका लागि एक करोड १० लाख रुपैयाँको चेक काट्न लगाएको उनको आरोप छ।
उनका अनुसार आफ्नो नाममा चेक नभएकाले हस्तमायाका ज्वाइँ भनिएका सुमीर प्रसाईँसँगै नबिल बैंकको भद्रपुर शाखाबाट चेकको व्यवस्था गरिएको थियो। त्यसपछि एक करोड १० लाख रुपैयाँको चेक काटेर हस्तमाया बस्नेतलाई विश्वासका आधारमा दिएको उनले बताइन्।
तीन करोड रकम आउने भन्दै २५–२५ लाखका चेकको फोटो देखाइएको दाबी
अम्बिका देवीका अनुसार मालपोत कार्यालयमा जग्गा पास गर्ने प्रक्रिया अघि बढिरहेका बेला हस्तमाया बस्नेतले लुम्बिनी विकास बैंकमार्फत अम्बिका देवी कार्कीको नाममा २५–२५ लाख रुपैयाँका दुईवटा चेक जम्मा गरिसकेको भन्दै मालपोत कार्यालयमा चेकका तस्बिर पठाएकी थिइन्।
मालपोत कार्यालयका अधिकारीले बैंक स्टेटमेन्ट ल्याउन भनेपछि आफू स्टेटमेन्ट लिन बैंक गएको उनको भनाइ छ। यही क्रममा हस्तमायाका ज्वाइँ भनिएका सुमीर प्रसाईँ आफूले बनाएको एक करोड १० लाख रुपैयाँको चेक लिएर त्यहाँबाट निस्किएको उनले आरोप लगाइन्।
पछि फोन तथा भिडियो कलमार्फत सोधपुछ गर्दा प्रसाईँले उक्त चेक कुरियरमार्फत काठमाडौंँमा हस्तमाया बस्नेतको नाममा पठाइसकेको बताएको अडियो रेकर्ड आफूसँग सुरक्षित रहेको अम्बिका देवीले दाबी गरिन्।
उनका अनुसार यस घटनामा हस्तमाया बस्नेत, विन्दा गिरी, सुमीर प्रसाईँ र निर्वाचन कार्कीको संलग्नता रहेको आशंका छ। उनीहरूबीच समन्वय गरेर जग्गा तथा बैंकिङ कारोबारमार्फत आफूलाई समस्यामा पारिएको उनको आरोप छ।




प्रतिक्रिया