कर्णालीसँग विकासका नाममा कुनै राजनीतिक सौदाबाजी गर्दैनौँ : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीसँग विकासका नाममा कुनै राजनीतिक सौदाबाजी नगर्ने बताएका छन्।

रास्वपाले सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पार्टीका उम्मेदवारलाई जिताए मात्रै विकास दिने वा पुल र सडक निर्माण गरिदिने आश्वासन दिएर मत माग्ने राजनीति नगर्ने स्पष्ट पारे।

कर्णालीबाट रास्वपाका उम्मेदवार निर्वाचित भए पनि नभए पनि प्रदेशको विकास पार्टीको प्राथमिकतामा रहने उनले बताए।

लामिछानेले कर्णालीले विकास मागिरहेको र खोजिरहेको उल्लेख गर्दै रास्वपा सरकारमा रहुन्जेल प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

उनले राजनीति निर्वाचनका लागि मात्रै नभएको बताउँदै चुनाव राजनीतिक प्रक्रियाको एउटा पाटो मात्रै भएको धारणा राखे।

यसैगरी, लामिछानेले कर्णालीमा पार्टीको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व अन्य प्रदेशको तुलनामा कमजोर रहेको स्वीकार गरे। पार्टीको आवाज कर्णालीका दूरदराजसम्म पुर्‍याउन नसकिएको उल्लेख गर्दै आगामी दिनमा प्रदेशका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।