इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत रूपमा जफत गरी दुरुपयोग गर्ने तथा आफूअनुकूलको कागज पढ्न दबाब दिने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको भन्ने आरोप गम्भीर रहेको बताएका छन्।

उनले हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका तथ्यले राज्यको अनुसन्धान प्रक्रिया र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन्।

अनुसन्धानका नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु तथा राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत भएको आङ्देम्बेको भनाइ छ।

उनले प्रधानमन्त्रीसँग इनम सापकोटा प्रकरणमा सरकारले निष्पक्ष अनुसन्धान गरिरहेको हो वा नियोजित रूपमा फसाउने षड्यन्त्र भइरहेको हो भन्ने प्रश्नसमेत गरेका छन्।

‘यो केवल राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय मात्र होइन, राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो,’ उनले भनेका छन्।

सत्ता स्थायी नहुने तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्ने उल्लेख गर्दै उनले सरकारलाई संविधान र विधिको शासनअनुसार सञ्चालन हुन आग्रह गरेका छन्।

नेता आङ्देम्बेले नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका पक्षमा आफ्नो अडानमा कायम रहेको स्पष्ट पार्दै इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गर्न, सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

लोकतन्त्रमा फरक विचार राख्नेहरूलाई फसाउने पटकथा नभई न्याय सुनिश्चित गर्ने कानुन आवश्यक रहेको उनको भनाइ छ।