नेपाललाई समृद्ध बनाउन १० वर्ष पर्याप्त छ : सभामुख अर्याल

File Photo

पाल्पा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण र कार्यान्वयन गर्ने निकाय इमानदार तथा जिम्मेवार भए नेपाललाई समृद्ध बनाउन १० वर्ष पर्याप्त हुने बताएका छन्।

शनिबार पाल्पाको दमकडामा आयोजित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले सरकारका कामकारबाही कानुनी विधि र प्रक्रियामा आधारित हुनुपर्नेमा जोड दिए।

सभामुख अर्यालले सरकारका कामकारबाहीबारे विभिन्न कोणबाट प्रश्न उठ्नु स्वाभाविक भए पनि राज्यका निकायले निर्णय गर्दा कानुनी प्रक्रिया पालना गर्ने गरेको बताए। सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न सरकारले केही कानुन संशोधनको प्रक्रिया अघि बढाएको जानकारीसमेत उनले दिए।

कानुन निर्माण गर्दा नेपालको भौगोलिक अवस्था, नागरिकको आवश्यकता, चेतनाको स्तर र प्रविधिको विकासलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो। समय र आवश्यकताअनुसार पुराना कानुन संशोधन गर्नुका साथै संविधानले व्यवस्था गरेअनुसार निर्माण हुन बाँकी कानुन बनाउनुपर्ने जिम्मेवारी रहेको उनले उल्लेख गरे।

कानुन निर्माण गर्ने निकाय, त्यसको कार्यान्वयन गर्ने निकाय र न्याय सम्पादन गर्ने निकाय इमानदार तथा जिम्मेवार भए मुलुकको समृद्धिको यात्रा सहज हुने सभामुख अर्यालले बताए।

यसैगरी, उनले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको जानकारी दिए। डिजिटल पार्लियामेन्ट प्रणाली लागू भएपछि नागरिकले आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधि संसद् बैठकमा कति पटक उपस्थित भए भन्ने विवरण मोबाइलबाटै हेर्न सक्ने उनले बताए।