भूमिसम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले राष्ट्रघाती काम गरेको उपेन्द्रको दाबी, भूमाफिया पोस्ने धन्दामा लागेको आरोप


काठमाडौं, १६ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश ल्याएर राष्ट्रघाती काम गरेको आरोप लगाएका छन् । आज (शुक्रबार) जसपा नेपालले अध्यादेशको सम्बन्धमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त अध्यादेश देशको हितमा नरहेको बताएका हुन् । ‘यो अध्यादेश ल्याउनु राष्ट्रहित होईन, राष्ट्रघाती कार्य हो,’– उनले भने ।

उक्त अध्यादेशले उद्देश्य भूमिहीनको समस्या समाधान गर्ने नरहेको उनको आरोप छ । ‘यिनीहरुको नियत भूमिहीनहरुको समस्या समाधान गर्न होईन, भूमाफियामार्फत अनुचित लाभको लागि देशलाई बर्वाद गर्ने,’– उनले भने ।

सुकुम्बासीको नाममा भूमाफिया र आफ्न्तलाई जग्गा बाँडेर कहिले पनि समस्या समाधान नहुने र यो अध्यादेशको ल्याउनुको उद्देश्य उनीहरुको समस्या समाधान गर्ने नरहेको उनले बताए । यसलाई सरकारले फिर्ता लिनु उपयुक्त हुने उनले बताए । ‘यसलाई देश र जनताको हितमा सरकारले फिर्ता लिए हुन्छ । धेरै वटा अध्यादेश सरकारले विगतमा फिर्ता लिएको छ । यसलाई पनि फिर्ता लिनुस्,’– उनले भने ।