श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता


काठमाडौँ, ३० असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशाम्सीबीच भेटवार्ता भएको छ ।

आज भएको उक्त भेटवार्तामा उनीहरुबीच युएईमा कार्यरत नेपाली कामदारका लागि न्यूनतम एक हजार दिराम तलब अनिवार्य रूपमा लागू गर्ने विषयमा छलफल भएको मन्त्री भण्डारीको निजी सचिवालयले जानकारी दिएको हो ।

मन्त्री भण्डारीले विगत लामो समयदेखि नेपाली श्रमिकहरू अत्यन्तै न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएको स्मरण गराउँदै अब न्यूनतम एक हजार दिराम नगद तलब र थप ४०० दिराम बराबरको आवास तथा खानाको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

नेपाली श्रमिकका लागि जम्मा एक हजार ४०० दिराम बराबरको सेवासुविधा सुनिश्चित गर्न युएई सरकारलाई मन्त्री भण्डारीले आग्रह गरे ।

सो अवसरमा राजदूत अलशाम्सीले नेपाल सरकारद्वारा तय गरिएको न्यूनतम तलबको व्यवस्थालाई युएई सरकारले सकारात्मक रूपमा लिएको बताए । यसको कार्यान्वयनमा आफूहरुको पूर्ण समर्थन रहने प्रतिबद्धतासमेत व्यक्त गरे । “नेपाल सरकारद्वारा तय गरिएको नीति युएईले पूर्ण रूपमा कार्यान्वयन गर्न तयार छ”, उनले भने ।

भेटका क्रममा राजदूत अलशाम्सीले महिला घरेलु कामदारका लागि नेपाल सरकारले अघि सारेको पाइलट परियोजनाबारे समेत चासो व्यक्त गरेका थिए।

मन्त्री भण्डारीले पाइलट परियोजनाका लागि सबै आन्तरिक तयारी सम्पन्न भइसकेको जानकारी दिए । उनले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्णय आएलगत्तै घरेलु कामदार पठाउने प्रक्रिया सुरु हुने विश्वास व्यक्त गरे । नेपाल सरकारले श्रमसम्बन्धी सम्पूर्ण सेवा–सुविधालाई ‘डिजिटलाइजेसन’तर्फ अगाडि बढाइरहेको जानकारी गराउँदै उनले त्यसमा युएई सरकारसँग सहकार्यको अपेक्षा गरिएको बताए । रासस/file photo