काठमाडौँ, ३० असार । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले तराई÷मधेसका क्षेत्रमा बढ्दो खानेपानी र सिँचाइको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले चुरे संरक्षण, तराई÷मधेसमा पानी पुनःभरणको योजना बनाउन तथा किसानलाई मलबिउ उपलब्ध गराउन तथा प्राकृतिक विपत्तिबाट नागरिकको जीउधनको रक्षा गर्न माग गरे ।
सांसद जुलीकुमारी महासेठले मधेस प्रदेशमा पानीको अभाव अन्त्य गर्न विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद अनिता देवीले सिँचाइको पर्याप्त सुविधा नहुँदा तराई÷मधेसका क्षेत्रमा धान रोपाइँ हुन नसकेकाले सो क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहतको व्यवस्था गर्न माग गरिन् ।
सांसद उर्मिला माझीले तराई÷मधेसका क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद कालुराम राईले चुरे संरक्षण गरेर मात्रै पहाड र तराई क्षेत्रमा भू–क्षय नियन्त्रण र पानीको अभाव अन्त्य गर्न सकिने जनाउँदै पानीको पुनःभरण योजना बनाउन आग्रह गरे ।
सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकार गठनको एक वर्ष बितिसक्दा पनि सम्झौतामा उल्लेख भएअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढ्न नसक्नु ‘जनतासँग गरेका प्रतिबद्धताप्रतिको धोका र सरकारको असफलता’ भएको टिप्पणी गरे । सांसद छिरिङ ल्हामु लामा तामाङले वर्तमान सरकार गठनको हुँदाका बखत संसद्मा गरिएको प्रतिबद्धता पूरा गर्न नसकी आफ्नो औचित्य गुमाइसकेको आरोप लगाए।
सांसद अन्जनी श्रेष्ठले पशुपतिको पूजाआजामा चर्को मूल्य लिने तथा किरियापुत्री भवनमा न्यूनतम सुविधा पनि नभएकाले सो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद अनमनलाल मोदीले स्वास्थ्य बीमाअन्तर्गत कोशीका ठूला अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाएर जनतालाई सास्ती दिने काम नगर्न सरकारलाई सुझाव दिए। आस्माकुमारी चौधरीले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘रेफरल सेन्टर’का रुपमा राखिँदा यसबाट नागरिकलाई स्वास्थ्योपचारलाई झन् जटिल भएको बताइन् ।
सांसद अम्मरबहादुर थापाले प्राकृतिक विपत्तिको जोखिममा रहेका नागरिकको जीउधनको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कबाड व्यवसायीमाथि भएको धरपकड नियन्त्रण गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराए ।
सांसद ईश्वरबहादुर रिजालले पर्यटकीय क्षेत्र दोलखाको जिरी क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारबाट जग्गा प्राप्तिको विषय टुङ्ग्याइदिन आग्रह गरे । सांसद ईश्वरी घर्तीले रोल्पाको भौतिक र शैक्षिक विकासमा विशिष्ट योगदान दिएका राप्रपा नेता बालाराम घर्ती मगरप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदान रोल्पाली जनताले स्मरण गरिरहने बताइन् ।
सांसद कल्पना चौधरीले भिजिट भिसा प्रकरणमा कहीँकतै संलग्न नभएका गृहमन्त्रीलाई प्रतिपक्षी दलले जबर्जस्ती मानवतस्करी करार गर्न खोजिरहेको भनी आपत्ति जनाइन् । ईश्वरीदेवी न्यौपानेले संसद्लाई दोषरोपण गर्ने थलोका रुपमा सीमित गर्न नहुनेमा जोड दिइन् ।
सांसद किरणकुमार साहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको लेनदेनसम्बन्धी विषयका बारेमा सदनलाई जानकारी गराउन माग गरे । सांसद गोकुलप्रसाद बास्कोटाले काभ्रेका नागीडाँडामा विमानस्थल निर्माणको विषय कता हरायो ? भनी प्रश्न गरे ।
सांसद गङ्गा कार्कीले खेतीयोग्य समयमा मलको अभाव हुनु लज्जास्पद भएको जनाउँदै संसद्मा उठेका विषयको सम्बोधनमा सरकारले ध्यान नदिएको बताए । सांसद चन्द्रकान्त भण्डारीले संसद्लाई समस्याको समाधानको थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै संसद् भवनमा समाचार सङ्कलनमा खटिने पत्रकार र सुरक्षाकर्मीलाई उपयुक्त प्रबन्ध गर्न माग गरे ।
सांसद चन्द्रबहादुर विश्वकर्माले गरिबी निवारण नेताका भाषण, नीति तथा कार्यक्रममा भए पनि गरिबी निवराणको योजना बनाउन सरकार चुकेको बताए। छिरिङ डम्डुल लामा भोटेले हुम्लालाई केन्द्रबिन्दु बनाएर लुम्बिनी, काक्रेबिहार हुँदै मानसरोबरसम्म जाने धार्मिक तथा पर्यापर्यटनको विकास गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद जनार्दन शर्माले छाउपडीका नाममा किशोरी र महिलाले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य कसरी र कहिले गर्ने भनी ? सरकारसँग प्रश्न गरे । सांसद कान्तिका सेजुवालले छाउपडी गोठमा विभिन्न कारणबाट महिलाले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गरायन् । सांसद अब्दुल खाँनले महिला हिंसाका घटना न्यूनीकरण गर्न विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरे । रासस




प्रतिक्रिया