मन्त्रीहरुले गल्ती गरेको हो भने जिम्मेवारीबाट हट्नुपर्छ, कसैले पनि उन्मुक्ति पाउँदैनन्ः योगेश भट्टराई


काठमाडौं, १ साउन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मन्त्रीहरुले गल्ती गरेको पाइएमा कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । पार्टी सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले गल्ती गरेको पाइएमा जिम्मेवारीबाट हट्नुपर्ने बताए । उनले मन्त्रीहरु घुस प्रकरणमा मुछिएको बारेमा उपयुक्त छानविन हुनुपर्ने उनको भनाइ छ ।

‘मन्त्रीहरुले विवादबाट उन्मुक्ति पाउँदैनन् । यदि त्यो सत्य हो भने उहाँहरुले पदीय जिम्मेवारीबाट हट्नुपर्छ र त्यसको उपयुक्त छानविन हुनुपर्छ,’– उनले भने ।

साथै, उनले नेपालमा विना तथ्य, विना प्रमाण आरोप लगाउने चलन रहेको बताए । उनले आरोप लागेपछि एमालेका मन्त्रीहरु गोकुल बास्कोटादेखि शेरबहादुर तामाङसम्मले राजीनामा दिएको उदाहरण पनि प्रस्तुत गरे । आरोप लगानेबित्तिकै उसको राजनीतिक जीवन नै समाप्त गर्ने ढंगले जान नहुने उनको भनाइ छ । नेता भट्टराईले एमाले शुुद्धीकरणको अभियानमा रहेको पनि बताए ।

‘नेकपा (एमाले) ले नै त्यो दृष्टान्त प्रस्तुत गरेको छ नि । यद्यपि कतिपय घटनाहरु प्रमाणित भएका छैनन् । गोकुलजीको सन्दर्भमा पनि प्रमाणित भएन । तर, उहाँले छोडिदिनुभयो । शेरबहादुर तामाङ सामान्य बोलीमा चिप्लिएको हो । त्यो पनि ठूलो कुरा थिएन । हङ्गामा खडा गरियो । उहाँले पनि छोड्दिनुभएकै हो । अहिले राजकुमार गुप्ताजीले छोड्दिनुभयो,’– उनले भने ।