उपसभामुख रानाको आचरणबारे योगेशको प्रश्नैप्रश्नः बालगृहबाट बच्चा लगेकोदेखि आफूखुसी विदेश गएकोसम्म


काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरको आचरणमाथि गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले तत्कालीन समयमा राना कार्यकारी प्रमुख रहेको प्रिजनर्स असिस्टेन्स नेपालले बाल संगठनको सिफल बालगृहबाट २०७२ कात्तिक १७ गते ५ जना बालबालिका जबरजस्ती उठाएर लगेको बताएका हुन् ।

‘२०७२ साल कात्तिक १७ गते बाल संगठनको सिफल बालगृहबाट ५ जना बच्चाहरु हराउँछन् । ती बच्चाहरु कहाँ गए भनेर खोजीनीति हुन्छ । त्यससन्दर्भमा ०७२ माघ १८ गते सो कार्यालयका एक जना कर्मचारीले केन्द्रीय बाल कल्याण परिषद्मा गएर बयान दिन्छन्– ती बालबालिकाहरु पीए नेपाल भन्ने संस्थाका मानिसहरुले जबरजस्ती लिएर गएका छन् । त्यो पिए नेपाल भनेको प्रिजनर्स असिस्टेन्स नेपाल । त्यसको कार्यकारी प्रमुख हुनुहुन्थ्यो अहिलेको हाम्रो उपसभामुखज्यू,’– उनले भने ।

त्यससम्बन्धमा २०७६ साल कात्तिक १४ गते तत्कालीन सरकारले पाटन उच्च अदालतका निर्वतमान न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग बनाएको उनले बताए । आयोगले व्यापक अध्ययन गरी प्रतिवेदन दिएकोमा आजसम्म पनि सार्वजनिक नभएको उनले बताए । उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न उनले सरकारसँग माग गरे । सो प्रतिवेदनले पनि पीए नेपाल बालबालिका ओसारपसारमा संलग्न रहेको र संगठित अपराधमा अनुसन्धान गरी कारबाही गर्नु भनी सिफारिस गरेको गाइँगुईँ सञ्चारमाध्यमहरुमा आएको उनले बताए ।

‘पहिलो कुरा त त्यो प्रतिवेदन कहाँ छ ? तत्काल सार्वजनिक गर्न म अनुरोध गर्न चाहन्छु । किनकी यो बालबालिकासँग, संवेदनशील विषयसँग सम्बन्धित छ । त्यतिबेला केही सञ्चारमाध्यमहरुमा गाइँगुईँ आएको कुरा के थियो भने– त्यो प्रतिवेदनमा पनि पीए नेपाल भन्ने संस्था बालबालिका ओसार–पसारसँग सम्बन्धित केसमा संलग्न छ । यसलाई संगठित अपराधसम्बन्धमा अनुसन्धान गरी कारबाही गर्नुपर्छ भनेरसमेत सिफारिस गरेको छ भनेर हामीले सुनेको हो । यदि त्यो हो भने आजका हाम्रो उपसभामुखज्यूसँग जोडिएको यो संस्था हो । उपसभामुख भएपछि उहाँ यो संस्थाबाट अलग हुनुभएको छ । अब यो आचरणसँग सम्बन्धित हो कि होइन ? उपसभामुखको पदमा बस्ने मानिसहरुको यस्तो गम्भीर आचरणमा प्रश्न उठिसकेपछि यस विषयमा स्पष्ट हुनुपर्छ कि पर्दैन भन्ने मलाई लाग्छ,’– उनले भने ।

त्यस्तै, २०७९ को निर्वाचनबाट उपसभामुख भएपछि राना हालसम्म १७ पटक विदेश भ्रमणमा गएको नेता भट्टराईले बताए । सोमध्ये ७ पटकमात्रै सभामुखबाट भ्रमण स्वीकृत भएको र १० पटक भने आफूखुसी हिँडेको उनको आरोप छ । उक्त विषय पनि उपसभामुखको आचरणसँग जोडिने उनले बताए । उनले संविधानको धारा ९१ प्रतिनिधिसभामा प्रयोग हुनसक्ने संकेत गरे ।

‘माननीय उपसभामुखज्यू यो कार्यकालभरी १७ पटक विदेश भ्रमण गर्नुभएछ । सामान्य होइन । त्यसमध्ये सात पटक सभामुखज्यूले स्वीकृत गरेर भ्रमण गर्नुभएको देखिन्छ । १० पटक कसैले पनि स्वीकृत गरेको छैन । के आधारमा उहाँ भ्रमण गरिरहनुभएको छ ? कहाँ जानुभएको छ ? कसको निम्तोमा जानुभएको छ ? यो गम्भीर विषय हो । सभामुखको स्वीकृतिविना उपसभामुख विदेश भ्रमणमा गएको विषय आचरणको विषय हो कि होइन ? यी प्रश्नको जवाफ यो संसद्ले उपसभामुखज्यूबाट खोज्छ,’– उनले भने ।

उपसभामुख रानामाथि प्रश्नैप्रश्न उठिरहेको बेला आदिवासी, जनजाति, महिला भनेर इमोशनल ब्ल्याकमेलिङ गरिराखिएको उनले बताए । यस्ता प्रकारको इमोशनल ब्ल्याकमेलिङको कुनै अर्थ नरहेको उनले बताए ।