काठमाडौं, ६ भदौ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा समस्या खडा गरिदिएको बताएका छन् । आज (शुक्रबार) च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई एकतावद्ध बनाउन बल पुर्याउनुपर्नेमा भण्डारीले जनसंगठनको निर्वाचन हारेका असन्तुष्ट पक्षलाई भेला पारेर जमात खडा गरेको बताएका हुन् । पार्टीले दुई/दुई पटक राष्ट्रपति बनाएको गुण भण्डारीले बिर्सिएको ओलीको भनाइ थियो । भण्डारीले हिजो (बिहीबार) नयाँबानेश्वरका थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गरेकी थिईन् ।
‘पार्टीले दुई/दुई पटक राष्ट्रपति बनायो । त्यस्तो व्यक्ति फर्किएर समस्या खडा गर्नुहुन्छ भन्ने कुरा पार्टीले कल्पना पनि गरेको थिएन । उहाँ आएर पार्टीमा सहयोग पुग्नुपर्ने, पार्टीको एकतामा उहाँले बल पुर्याउनुपर्ने, पार्टीमा सधैं असन्तुष्ट, पार्टीको पक्षमा नबोल्ने र पार्टीका विभिन्न जनसंगठनको चुनाव हारेका मान्छेहरु, असन्तुष्ट भएका मान्छे तिनलाई भेला गरेर असन्तुष्टहरुको जमात खडा गरेर कुदिराख्नुभएको छ,’– उनले भने ।
साथै, उनले जननेता मदन भण्डारीको आगामी २०८३ असार १४ मा पर्ने जन्मजयन्ती मनाउन भनेर अहिलेदेखि कार्यालय खोलेर विद्याले असन्तुष्ट पक्षलाई भेला पारेको बताए । ‘जननेता मदन भण्डारीको अर्को वर्ष आउने जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय, के कार्यालय खोल्नुपर्छ ? अर्को वर्ष असार १४ गते आउने जन्मदिन मनाउनका लागि अहिलेदेखि पार्टी कार्यालय खोलेर पार्टीका विरुद्धमा क्रियाशील हुने, भित्र–भित्र क्रियाशील हुने र असन्तुष्ट रहेका त्यस्ता तत्वहरुलाई भेला गरेर पार्टी कार्यालय खोल्नुपर्छ ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया