पूर्व राष्ट्रपति राजनीतिमा आउनु उचित होइन भनेर केन्द्रीय कमिटीले निर्णय गरिसक्यो, विद्या भण्डारी राजनीतिमा आउन सम्भव छैनः एमाले नेता राई


काठमाडौं, ८ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री राजेन्द्र राईले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने च्याप्टर क्लोज भइसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले केन्द्रीय कमिटीले दुई/दुई पटक राष्ट्रपति भएको मान्छे राजनीतिमा आउनु उचित होइन भनेर निर्णय गरिसकेको उनले बताए । उनले भने, ‘केद्रीय कमिटीले नेपालको सन्दर्भमा राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा आउनु उचित होइन भनेर फैसला गरिसक्यो । यो कोर्श पूरा भइसक्यो ।’

एमालेले राजनीतिमा आउनु उचित हुँदैन भनेर निर्णय गरिसकेकाले अब विद्या भण्डारी त्यो बाटोमा जान उचित नहुने उनले बताए । साथै, उनले विगतको तुलनामा सरकारले धेरै राम्रो काम गरिरहेको बताए । उनले हिजोको तुलनामा के–कति विकास भयो भन्ने कुरा सूचकाङ्कमा हेरिनुपर्ने बताए । विगतको तुलनामा शिक्षा, स्वास्थ्य, गरिबी निवारण, सिचाईँ, पर्यटनलगायतको क्षेत्रमा उल्लेख्य प्रगति भएको उनले बताए । ‘हिजोको तुलनामा सूचकाङ्क हेर्नु न तपाईँले । विकास भयो वा भएन सूचकाङ्क हेर्ने, गरिबी घट्यो, घटेन । जनताको इनकम बढ्यो, बढेन । सुशासन के छ, स्वास्थ्यका क्षेत्रमा के छ, सडक, सिचाईँ र पर्यटनको बारेमा के छ भन्ने कुरा सूचकाङ्क हेरेर बोल्नु न । थाहा भइहाल्छ नि,’– उनले भने ।