सैन्य रणनीतिसँग जोडिएको पुष्टि भएमा सरकारले एमसीसी खारेज गर्नुपर्छः महासचिव गुरुङ


काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सैन्य योजनासँग जोडिएको छ कि छैन भन्ने कुराको गम्भीर निगरानी हुनुपर्ने बताएका छन् । काष्ठमण्डप संवाद श्रृंखलालाई सम्बोधन गर्दै उनले एमसीसी सैन्य रणनीतिसँग जोडिएको पुष्टि भएको खण्डमा यसलाई खारेज गर्न सरकार तयार हुनुपर्ने बताएका हुन् ।

‘सैन्य रणनीतिसँग जोडिएको पुष्टि भएको खण्डमा यसलाई खारेज गर्नको लागि नेपाल सरकार तत्पर रहनुपर्छ भन्ने मानसिकताका साथ हामीले सजकता अपनाउनुपर्छ,’– उनले भने ।

अहिलेसम्म एमसीसी परियोजना कार्यान्वयनका लागि जग्गा अधिग्रहण लगायतका विषयमा सैन्य रणनीतिसँग जोडिएको नदेखिएको उनले बताए । विकास परियोजनाको रूपबाट हेर्दा एमसीसीबाट आर्थिक सहायता भने लिन सकिने उनको भनाइ छ ।