काठमाडौं, १२ भदौ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु राईलाई नेपाल ल्याउन तत्कालीन गृहमन्त्री रवि लामिछानेकै कारण असम्भव भएको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तत्कालीन समयमा लामिछानेले संसद्को रोस्ट्रममा उभिएर ‘जिबी राई यहाँ छ, ल्याउनका लागि फलानोसँग कुरा गरेको छु’ भनेर सूचना चुहावट गर्ने काम गरेको बताएकी हुन् ।
‘जीबी राईलाई मलाई लाग्छ– ल्याउन सक्ने सम्भावना रहन्थ्यो होला । सरकारले अहिले पनि कोशिस गरिराखेको छ । तर, जसरी रोस्ट्रममा उभिएर रवि लामिछानेजीले भन्नुभयो नि– मैले फलानो सरकारसित, फलानो गृहमन्त्रीसित कुरा गरिराखेको छु । त्यो विषय के हो भन्नुस् त ? गृहजस्तो मन्त्रालयले उसले कहाँ–कहाँबाट कसरी ल्याउनुपर्ने छ भन्ने सूचना चुहावट गर्नुपर्ने विषय होइन । रोस्ट्रममा उभिएर मैले फलानोलाई कुरा गरिसकेको छु, फलानो ठाउँमा छ भनिसकेपछि तिमी त्यहाँ सुरक्षित रहनका लागि उपाय गर भनेको हो कि होइन त ?’ प्रश्न गर्दै उनले भनिन् ।
उनले आफूलाई जीबी राई पनि कतै फसेको हो कि जस्तो लाग्ने गरेको बताईन् । हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री रहेका विपिन कुमार आचार्य र रवि लामिछानेको कारण जीबी राई फसेको हुनसक्ने उनको भनाइ छ । सह–महामन्त्री आचार्यले ठूला–ठूला सपना बाँड्ने गरेको आफूहरुले समितिबाट थाहा पाएको पनि उनले बताईन् ।
‘हामीलाई त्यहाँ कुरा गर्दाखेरी, समितिमा आएर भन्दा पनि हामीले के सुन्यौं भने यति ठूलो सपना बाँड्नुहुन्थ्यो रे विपिन आचार्यले । त्यो सहकारीबाट पैसा ल्याउन न धितो राख्नुपर्यो, न जमानी बस्नुपर्यो । न केही गर्नुपर्यो । त्यही सहकारीबाट आएको पैसाले रविजी शेयर होल्डर हुनुभएको छ । यही कारणले गर्दाखेरी रविजी देश निकाला पो हुनुपरेको हो कि ? साह्रा सम्पत्ति सकिएको पो हो कि भन्ने कता–कता मलाई शंका चाहिँ लाग्छ,’– उनले भनिन् ।




प्रतिक्रिया