काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री आनन्द पोखरेलले कांग्रेस–एमालेको वर्तमान सरकार बनेपछि अस्तव्यस्त मुलुक सही ट्याकमा आएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विगतमा गणतन्त्रमाथि भइरहेको प्रहार अहिले आएर रोकिएको, मुलुकको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको र मुलुकको कूटनीतिलाई अस्तर्राष्ट्रियस्तरमा चिनाएको बताए ।
‘अहिले एमाले र कांग्रेसको सरकार बनिसकेपछि तपाईँले ६ वटा कुरामा राम्रोसँग परिवर्तनको अनुभूति गर्न सक्नुहुन्छ । सरकार चलाउँदै गर्दा कति अस्तव्यवस्त थियो, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार थियो । सबै प्रहारलाई पराजीत गरेका छौं । यो मुलुकमा जुन ढंगको आर्थिकस्थिति थियो, त्यो आर्थिकस्थितिलाई परिवर्तन गरेर सकारात्मक दिशातर्फ ल्याउने काम गरेका छौं । नेपाललाई सबैले देख्ने, सुन्ने र बोलाउने तहमा अन्तर्राष्ट्रिय क्षेत्रलाई पुर्र्याएका छौं । नेपाललाई ग्रे–लिस्टबाट बाहिर निकाल्ने कुरामा धेरै प्रगति भइसकेको छ । सन् २०२६ मा नेपाललाई अविकशित मुलुकबाट विकाशोन्मुखमा ग्रजुयशन गर्ने कुरा छ । यी चिजहरुले मुलुकको स्वाभिमानलाई बलियो बनाउँछ । सत्ता स्वार्थका लागि होइन,’– उनले भने ।
साथै, उनले भूमि विधेयक पारित भएर ऐन बन्नेबित्तिकै सुकुम्बासी, भूमिहीन र कोशीबाट विस्तापित भएकाहरुलाई जग्गा र राहत उपलब्ध गराइने उनले बताए । उनले एक हप्ताभित्र यो विधेयक पारित हुने र पीडितहरुका लागि जग्गा र बसोबासको व्यवस्था वर्तमान सरकारले गर्ने उनले विश्वास दिलाए । ‘यो ऐन आउनेबित्तिकै सुकुम्बासी, भूमिहीन, कोशी विस्तापितहरु सबैलाई जग्गा प्रदान गर्नेगरी काम अगाडि बढ्छ । आशा गरौं अबको एक हप्ताभित्र भूमि विधेयक पास हुनेछ । यी पीडितहरुको लागि जग्गा र बसोबासको व्यवस्था वर्तमान सरकारले गर्ने म तपाईँलाई विश्वास दिलाउन चाहन्छु,’– उनले भने ।




प्रतिक्रिया