किसानको माग सम्बोधन गर्न सकिँदैन भने राजीनामा दिनुस्, हामी सरकार चलाउँछौं र माग पूरा गर्छौंः ज्ञानबहादुर शाही


काठमाडौं, १३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले लिपुलेक र लिम्पियाधुराबारे भारत र चीनसँग प्रधानमन्त्रीस्तरीय वार्ता गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको चीन र भारत भ्रमणका क्रममा उक्त भूमिबारे कुरा गर्न आग्रह गरेका हुन् । साथै, उनले लिपुलेक र लिम्पियाधुराको सीमा विवादको विषय संयुक्त राष्ट्रसंघमा पुर्याइनुपर्ने उनको भनाइ छ ।

‘प्रधानमन्त्रीज्यू चीन र भारत भ्रमणमा जाँदै हुनुहुन्छ भन्ने सुनेका छौं । लिपुलेक, लिम्पियाधुराबारे भारत र चीनसँग प्रधानमन्त्रीस्तरीय वार्ता गर्नुपर्छ । यो वार्ता गर्न हामी अपिल गर्छौं । संयुक्त राष्ट्रसंघमा आजसम्म यो किन कुरा उठाइएको छैन ? सरकारलाई हामी भन्न चाहन्छौं, खबरदारी गर्न चाहन्छौं– संयुक्त राष्ट्रसंघमा लिपुलेक, लिम्पियाधुराको बारेमा कुरा उठोस्,’– उनले भने ।

राप्रपाका प्रवक्तासमेत रहेका शाहीले दुई तिहाइको सरकारले उखु किसानको अनुदान आधा घटाएको भन्दै आपत्ति जनाए । अनुदान कसरी आधा घट्यो ? भन्दा अर्थ मन्त्रालयले ‘ढुकुटीमा पैसा छैन’ भन्ने जवाफ दिएको पनि उनले बताए । उनले जनताले रगत र पसिना बगाएर तिरेको करको पैसा कहाँ गयो ? भन्दै प्रश्न गरे ।

उखु किसानको पैसा तिर्न सक्दैनौं भनेसँग वर्तमान सरकार दुई तिहाइको नरहेको प्रष्ट भएको उनले बताए । उनले वर्तमान सरकारलाई कमजोर खुट्टा भएको र पोलियो रोग लागेको सकरारको संज्ञा दिए । किसानको पैसा तिर्न नसक्ने भए सरकार छाड्न पनि उनले चेतावनी दिए ।

‘दुई तिहाइको शक्तिशाली सरकारले उखु किसानको पैसा तिर्न सक्दैन भने यो सरकार दुई तिहाइको रहेन छ नि त । यो कमजोर खु्ट्टा भएको, लुलो खुट्टा भएको पोलियो रोग लागेको सरकार रहेछ । किनभने यो सरकारको हैसियत थाहा भइसक्यो । किसानहरुको मागसम्म सम्बोधन गर्न नसक्ने सरकार के दुई तिहाइको सरकार ? किसानको पैसा तिर्न सक्दैनौं भने सरकारमा किन बसेको ? राजीनामा दिनुस्, हामी चलाउँछौं सरकार । त्यसपछि किसानको माग पूरा गर्छौं,’– उनले भने । File Photo/RN