काठमाडौँ, १३ भदौ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वायुप्रदूषण नियन्त्रणका लागि युरो–६ मापदण्डको कार्यान्वयन र सहरी हरियाली विस्तारजस्ता कार्य अघि बढाइएको बताएका छन् ।
वातावरण विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन कार्ययोजनासम्बन्धी कार्यशालामा मन्त्री शाहीले प्रदूषणका प्रमुख स्रोतहरूको पहिचान, इन्धन गुणस्तरमा सुधार, विद्युतीय सवारीसाधनलाई प्रोत्साहन, उद्योगमा स्वच्छ प्रविधिको प्रवद्र्धनलगायत कार्य अघि बढाइएको उल्लेख गरे ।
“वायुप्रदूषण नेपालको मात्र समस्या नभई, दक्षिण एशियाकै लागि पनि गम्भीर चुनौती हो”, मन्त्री शाहीले भने, “यसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याइरहेको छ, विशेषगरी यसबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भइरहेका छन् । साथै यसले कृषि उत्पादनमा गिरावट ल्याइरहेको छ र हाम्रो जैविक विविधता तथा जलवायुमा प्रतिकूल प्रभाव पारिरहेको छ ।”
यस गम्भीरतालाई बुझ्दै नेपाल सरकारकोतर्फबाट पछिल्ला वर्षमा विभिन्न पहल अघि बढाइएको र काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरिएको मन्त्री शाहीले बताए ।
“अहिले हामी राष्ट्रियस्तरको कार्ययोजनातर्फ अघि बढिरहेका छौँ, यसबाट दिगो, विज्ञानमा आधारित, समावेशी र नेपालको आवश्यकताअनुरूप रणनीति तय हुने विश्वास छ”, उनले भने । वायुप्रदूषण कुनै एक देश वा सीमाभित्र मात्र सीमित समस्या नभएको उल्लेख गर्दै उहाँले यसको समाधान पनि बहुपक्षीय सहकार्यबाटै सम्भव हुने बताए । साथै उनले अन्तरराष्ट्रिय, क्षेत्रीय, राष्ट्रिय र स्थानीय सबै तहमा सहकार्य र साझेदारीलाई अझ सुदृढ बनाउन जोड दिए ।
मन्त्री शाहीले मन्त्रालयमार्फत, दातृ निकाय, सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, प्रदेश तथा स्थानीय सरकार र समुदायसँग हातेमालो गर्दै, सबैको साझा प्रयासमा कार्ययोजना तयार हुनेमा प्रतिबद्धता व्यक्त गरे । यसले स्वच्छ हावा, स्वस्थ जीवन, दिगो विकास र भावि पुस्ताका लागि सुरक्षित वातावरणको मार्ग प्रशस्त गर्ने उनको विश्वास थियो । रासस/file photo




प्रतिक्रिया