कोशी प्रदेशसभा बैठक : तथ्याङ्कसम्बन्धी विधेयक पारित


विराटनगर, १३ भदौ । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश तथ्याङ्कसम्बन्धी व्यवस्थित गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ‘विधेयक पारित गरियोस्’ भनी राखेको प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।

यसअघि विधेयकको दफावार छलफलमा कोशी प्रदेशसभा सदस्य निरन राई, कमला दर्नाल र छविलाल चुँडालले धारणा राखेका थिए । विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका सदस्य रमेशकुमार बस्नेतले प्रस्ताव फिर्ता लिएका थिए ।

मन्त्री मगरले सरकारले बनाउने योजना, नीति, नियम एवं कानुनलाई कार्यान्वयन तहसम्म लैजान तथ्याङ्कको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले प्रदेश सरकारले प्रत्येक पाँच वर्षमा बनाउने योजनामा तथ्याङ्कको भूमिकालाई इन्कार गर्न नसकिने भन्दै सही तथ्याङ्कले मात्र सरकारले वितरण गर्ने सेवासुविधा नागरिक तहसम्म पुग्ने विचार राखे ।

विशेष तथा शून्य समय

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेशसभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले सरकारले दलित सशक्तीकरण ऐन ल्याउनुपर्नेमा जोड दिए । उनले सरकारले ल्याएको आमसञ्चार विधेयकमा धेरै त्रुटि रहेकाले पुनः न्याय, प्रशासन तथा विधायन समितिमा छलफल गर्नुपर्ने धारणा राखे ।

उप्रेतीले चालु अधिवेशनमा नै संसदीय नियमावलीलाई छिनोफानो गर्न सुझाव दिए ।

यस्तै, शून्य समयमा प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईं, सपना दर्जी, प्रदीपकुमार सुनुवार, सुनिताकुमारी गुरुङ, विद्या चाम्लिङ राई, कमला थापा मगर, मीना श्रेष्ठ, किशोरचन्द्र दु्लाल, तिलचन पाठक र शोभा चेम्जोङले विविध पक्षमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेशसभाको अर्को बैठक भदौ १५ गते दिउँसो १ बजे बस्नेछ । रासस